पोखरा । एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लब र आयोजक टोलीबीचको खेल स्थगित भएको छ । पहिलो दिनको अन्तिम खेलमा आर्मी र आयोजक टोली टाइगर ग्रपबीचको खेल भिजिबिलिटी कम हुँदा स्थगित भएको हो ।
पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ ले हार्न पुग्यो । दोस्रो सेट आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले २५–२१ ले जित हासिल निकाल्यो । तेस्रो सेट सकिँदा साँझ करिब साढे ५ बजेको थियो । त्यसपछि रेफ्री टहलसिंह थापाले दुई टोलीका कप्तानसँग छलफल गरी खेल स्थगित गरे । स्थगित खेल आइतबार गर्ने रेफ्री थापाले बताए ।
शनिबार नै भएको खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गरेको थियो । पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ सेटले पराजित गर्यो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबारबाट सुरु भएको पाँचौं संस्करणको टाइगर कप भलिबल माघ १९ गतेसम्म चल्नेछ । प्रतियोगिताको पुरुषतर्फका खेल आइतबारबाट सुरु हुनेछन् ।