GIF TIGER CUP

एउटै मञ्चमा गुञ्जिँदै सात पोखरेली ब्याण्ड

पोखरा । कुनैबेलाको ब्याण्डहरुको राजधानी पोखरामा ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा ‘ब्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम गर्न लागेको आयोजकले आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।

कार्यक्रममा ९० को दशकमा उदाएर राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्याती कमाउन सफल सात वटा ब्याण्डहरुले प्रस्तुति दिने गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव तथा सो कार्यक्रमका संयोजक मनकुमार श्रेष्ठले जानकारी दिए । उनकाअनुसार कार्यक्रममा कन्दरा (विवेक श्रेष्ठ), डि–मर्चा ब्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली ब्याण्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली ब्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस व्याण्ड (प्रकाश राना), मध्याह्न ब्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड ब्याण्ड (श्यामसुङ तामाङ)को प्रस्तुति रहनेछ ।

ब्याण्डहरुको राजधानी पोखराको विरासत फर्काउने गरी कार्यक्रम गर्न लागिएको आयोजक पोखरा सांगीतिक कलाकार संघ, नेपालका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले बताए । कुनैबेला पोखरा ब्याण्डहरुको राजधानी थियो । ९० को दशकमा पोखराका ब्याण्डहरुले देश, विदेशमा आफ्नो कला र संगीतमार्फत ध्यान तानेको थियो,’ उनले भने, ‘समय अन्तरालमा आ–आफ्नो व्यस्तता र बाध्यताले गाँज्दा यो पहिचान बिस्तारै सुस्ताउँदै गयो । तर एकपटक जुर्मुराउने बेला आएको अनुभूति भएपछि त्यही विरासत फर्काउन यो कार्यक्रम गर्न लागेका हौं ।’

GIF TIGER CUP

सुसुप्त अवस्थामा रहेका पुराना सांगीतिक ब्याण्डहरुको पुर्नजागरण गर्ने र नया पुस्तालाई संगीतमा लागेरपनि भविष्य बनाउन सकिन्छ भन्ने सन्देश दिदै यसतर्फ आकर्षित गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको संघका सचिव भाष्करध्वज श्रेष्ठले बताए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएपनि व्यवहारिक रुपमा लागु नभइरहेको सन्दर्भमा यस कार्यक्रममार्फत पोखरा पर्यटनको राजधानी हुन डिजर्भ छ भन्ने सन्देश दिनु हो,’ उनले भने, ‘कार्यक्रममार्फत पोखरालाई रिब्राण्डिङ गर्ने, गीत, संगीतको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने, गीत, सङ्गीतमार्फत् निराशाको निवारण र आशाको धुन सञ्चार गर्ने, कुलत र दुव्र्यसनबाट जोगिन युवालाई संगीतको माध्यमबाट सन्देश दिने, राष्ट्रिय एकताको भावनालाई बलियो बनाउँदै सद्भावको पक्षपोषण गर्नु पनि कार्यक्रमको उद्देश्य हो ।’

कार्यक्रममा सहभागिले आफूलाई ९० को दशकमा फर्किएर आफू हुर्किएको समय, परिवेश र माया, पिरती साट्दाको समयसँग रिलेट गर्न सक्ने संघका निवर्तमान अध्यक्ष सुनिल थापाले बताए । उनले भने, ‘जसले परिवारसँगको माया थप प्रगाढ बनाउन तथा आफ्नो सन्ततिलाई त्यो समयबारे भन्ने अवसर सिर्जना गर्नेछ ।’

कार्यक्रम सम्पन्न गर्न गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठको संयोजकत्वमा ५०१ सदस्यीय मूल आयोजक समिति गठन भएको प्रचारप्रसार संयोजक सन्देश श्रेष्ठले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.