पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत सोमबार ४ खेल हुँदै छन् । शनिबारबाट सुरु भएको प्रतियोगिताको तेस्रो दिन सोमबार महिलातर्फ दुई र पुरुषतर्फ दुई खेल हुने तालिका छ ।
अब लिग चरणका खेल हुने आयोजक टाइगर ग्रुपले जनाएको छ । सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्नेे टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्ने छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहान पौने ९ बजे पहिलो खेल हुनेछ । उक्त खेल महिलातर्फ ‘जित्ने समूह’का टिपटप न्यू डायमण्ड स्पोर्टस् क्लब र सशस्त्र प्रहरी बल (एपीएफ)बीच प्रतिष्पर्धा हुनेछ ।
दोस्रो खेल महिलातर्फ ‘हार्ने समूह’का ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्ड र नेपाल पुलिस क्लबले खेल्ने छन् । उक्त खेल पौने ११ बजेबाट सुरु हुनेछ ।
तेस्रो खेल पुरुषतर्फ ‘जित्ने समूह’ भारतको सुनिल भलिबल क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन् । अन्तिम तथा चौंथो खेल पुरुषतर्फ ‘हार्ने समूह’का गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबबीच हुनेछ ।
लिगपछि ‘जित्ने समूह’ बाट शीर्ष दुई टोली फाइलन प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र ‘हार्ने समूह’ बाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा भिड्ने छन् ।
पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । ‘हार्ने समूह’ बाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिने छन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा जारी प्रतियोगिताको फाइनल माघ १९ गते हुनेछ ।