GIF TIGER CUP

धरौटी बदरको माग गर्दै रविले दिए उच्च अदालतमा निवेदन

पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटी बदरको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालत पुगेका छन् ।

कास्की अदालतले सूर्यदर्शन सहकारी ठगी मुद्दामा लामिछानेसँग ६५ लाख धरौटी मागेको थियो ।

सोमबार उक्त धरौटी बदर गरी साधारण तारेखमा बसेर मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै लामिछानेले उच्च अदालत पोखरामा निवेदन दिएका हुन् ।

GIF TIGER CUP

उच्च अदालतका सूचना अधिकारी उप-रजिस्ट्रार निलप्रसाद पनेरूले निवेदन दर्ता भएको जानकारी दिए ।

रविले धरौटी माग गर्ने जिल्लाको आदेश नै त्रुटिपूर्ण रहेको दाबी गरेका छन् । २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरी ४ कात्तिकमा जिल्ला अदालत कास्कीमा उपस्थित गराइएका रविलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा करिब २८ करोड रुपैयाँ बिगो माग दाबी गर्दै अभियोजन दर्ता भएकोमा न्यायाधीश नीतिज राईको इजलासले २५ पुसमा ६५ लाख रुपैयाँ धरौटी मागेको थियो ।

न्यायाधीशले धरौटी माग गर्ने आधार र प्रमाण नै बेरितको दाबी गर्दै रविले बदर गर्न माग गरेका हुन् । सहकारीबाट ऋण लिन आफू उपस्थित नभएको, आवेदन नगरेको, आफ्नो खातामा जम्मा नगरेको र कुनै प्रकारको संलग्नता नरहेको पुष्टि हुँदा आफूउपरको अभियोग खण्डित भएको रविले उच्चमा दिएको निवेदनमा उल्लेख छ ।

६५ लाख रुपैयाँ धरौटी लिने गरी भएको आदेशमा गोर्खा मिडिया नेटवर्क प्रालि कम्पनीमा एकल हस्ताक्षर गरी ८१४ वटा चेक काटेर कारोबार गरेको भन्ने बुँदा लगाएकोप्रति पनि उनले प्रश्न उठाएका छन् । विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १२ वर्णित व्यवस्थाको आधारमा कम्पनीको हितमा असल नियतले गर्नुपर्ने कम्पनी कानुनको सिद्दान्त र प्रावधानले निर्दिष्ट गरेको कर्तव्य र दायित्वभित्रको काममात्र गरेको रविको दाबी छ ।

चेकमा हस्ताक्षर गर्ने कार्य फौजदारी कसुरको दायराभित्र पर्न सक्छ भन्ने अनुमान गर्न नमिल्ने हुँदा सुरु आदेश त्रुटिपूर्ण रहेको भन्दै रविले बदर गर्न माग गरेका छन् ।

यसअघि लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेर जिल्ला सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको थियो ।

सूर्यदर्शन सहकारीको मुद्दामा अदालतले गरेको आदेशबारे आएका निवेदनहरूलाई एकै ठाउँमा राखेर सुनुवाइ हुने उप-रजिस्ट्रार पनेरूले बताए ।

Leave A Reply

Your email address will not be published.