GIF TIGER CUP

पोखरामा अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल सुरु

पोखरा । ‘स्वास्थ्यको लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने नारासहित बगर भाइखलकको आयोजनामा १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

पोखरा महानगरपालिका-१ बगरस्थित पुरानो टुडिखेलमा मंगलबारदेखि १४ औं अन्तर्राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी मधुकर सिंह कार्कीले गरे । सो अवसरमा बोल्दै उनले खेलकुदले सबै उमेर समूहलाई एउटै सुत्रमा बाँध्ने धारणा राखे । उनले खेलकुदको माध्यमबाट चौतर्फी विकास हुने बताउँदै बगर भाइखलको प्रतियोगिताले आगामी वर्षहरुमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

GIF TIGER CUP

उद्घाटन खेलमा संगम भेट्रान्स विजयी बन्यो । लेकसाइडलाई १–० गोल अन्तरले पराजित गर्दै संगम दोस्रो चरणमा प्रवेश गर्यो । संगमको जीतमा दिलिपकुमार गुरुङले निर्णायक गोल गरे । उनै दिलिप म्यान अफ द म्याच घोषित भए ।

यस्तै अर्को खेलमा आयोजक भाइखलकले विष्णुपादुका हेमजालाई ३–० गोल अन्तरले हरायो ।

भाइखलकको जीतमा नरेश केसी र शशी राईले समान १/१ गोलको योगादन दिए भने, १ गोल हेमजाका गोलरक्षक राजु श्रेष्ठले आत्मघाती गरेका थिए । उक्त खेलबाट बगर भाइखलकका नरेश केसी म्यान अफ द म्याच बने ।

बुधबार पनि पहिलो चरणकै खेलहरु हुने भाइखलका अध्यक्ष इश्वरमान गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको तिन वटा विधामा ४० वर्ष उमेर पूरा भएको विधामा १९ टिम, ५० वर्ष उमेर समूहतर्फ १४ टिम र ६० वर्ष उमेर पूरा भएका ६ समूह गरेर कुल ३९ टिमको सहभागिता छ ।

उपाधि २ लाख

बगर भाइखलकका महासचिव मनकाजी गुरुङले ४० वर्ष उमेर समूहतर्फको विजेताले २ लाख, उपविजेताले १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए ।

सो उमेर समूहको विधागततर्फ सर्वोकृष्ट खेलाडीलाई नगद १५ हजार, उत्कष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फवार्ड र प्रशिक्षकले नगद ५/५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

यस्तै ५० वर्ष उमेर समूहतर्फको विजेताले १ लाख र उपविजेताले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै ६० वर्ष उमेर समूहतर्फको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

१३ औं संस्करणको प्रतियोगितामा ४० वर्ष उमेरसमूहतर्फ जोरपाटी भेट्रान्स काठमाडौं, ५० वर्ष उमेर समुहतर्फ संगम भेट्रान्स पोखरा र ६० वर्ष उमेर समूहतर्फ बगर भाइ खलकले उपाधि जितेको थियो ।

प्रतियोगितामा भारतको देहरादुन, काठमाडौं, ललितपुर, चितवन, सिरहा, हेटौंडा, सर्लाही, बुटवल, सिमरा, कैलाली, झापा, बिर्तामोड र पोखराका स्थानीय टिमको सहभागिता छ ।

Leave A Reply

Your email address will not be published.