GIF TIGER CUP

बिरुवामा विद्यालयस्तरीय एकल लोक गायन प्रतियोगिता

पोखरा । बिरुवा प्रज्ञा–प्रतिष्ठान, स्याङ्जाको आयोजनामा तथा गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा विद्यालयस्तरीय एकल लोक गायन प्रतियोगिता भएको छ। बिरुवा गाउँपालिकास्थित नवज्योति माध्यमिक विद्यालयमा प्रतियोगिता भएको हो ।

बिरुवा गाउँपालिकाका अध्यक्ष एवं बिरुवा प्रज्ञा–प्रतिष्ठानका संरक्षक सूर्यबहादुर कुँवरले विद्यार्थीमा अन्तरनिहित प्रतिभा उजागर गर्न बिरुवा प्रज्ञा–प्रतिष्ठानले खेलेको भूमिकाको प्रशंसा गरे ।

प्रतियोगितामा बिरुवा गाउँपालिकाका दश विद्यालयको सहभागिता थियो । प्रतियोगितामा भुरुङचौकी माविकी तीलमाया विक प्रथम, जीवनज्योति माविकी किन्जल गुरुङ दोस्रो, दिव्यप्रकाश माविकी ममता सुनार तेस्रो भए । मुनलाइट कम्युनिटी एकेडेमीका अनन्तराज पोखरेल सान्त्वना भएका थिए भने जनबालकल्याण आविका स्मृति विक र नवज्योति माविका निर्मला रानालाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

GIF TIGER CUP

कार्यक्रममा बिरुवा गाउँपालिकाका उपाध्यक्ष भगवती शर्मा, प्रमुख प्रशासकीय अधिकृत भेषराज आचार्य, वडा नं ८ का अध्यक्ष नबिन आले, नेपाली कांग्रेस बिरुवाका सभापति डिआर पोखरेल, नेकपा एमाले बिरुवाका सचिव गोपाल कोइराला लगायतले बोलेका थिए ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ, गण्डकी प्रदेशका महासचिव बालकृष्ण वाग्ले, राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशका महिला सचिव ज्योति लोहनी र विद्यार्थीहरुले प्रस्तुति दिएका थिए । प्रतियोगिताको निर्णायक संयोजकमा लोकदोहाेरी गायक खड्क गुरुङ थिए । निर्णायकमा गणेश राना र बालकृष्ण वाग्ले थिए ।

कार्यक्रम बिरुवा प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष शंकर विरही गुरुङको अध्यक्षतामा भएको हो । प्रतिष्ठानका उपाध्यक्ष एवं कार्यक्रम संयोजक पिताम्बर शर्माले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा शिक्षा शाखाका प्रास शिव गिरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.