पोखरा । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको छ ।
पोखरा रंगशालामा बुधबार बिहान भएको खेलमा ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । प्रतियोगितामा ट्राभल इन्क्वारीले एकमात्र जित निकाल्यो । आर्मीले भने जितविहीन रहँदै प्रतियोगिता टुंग्यायो ।
पहिलो सेट र दोस्रो सेट समान १८–२५ ले ट्राभल इन्क्वारीलाई सुम्पिएको आर्मीले तेस्रो सेटमा पुनरागमन गर्दै २६–२४ ले जित हासिल गरेको थियो । आर्मी चौथो सेटमा पुनः १९–२५ ले पराजित हुँदै खेल ट्राभल इन्क्वारीलाई सुम्पिएको हो ।