GIF TIGER CUP

पार्टी फुटाउने खेलमा छैनौं, सरकार ०८४ सम्मै रहन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने खेलमा सरकार नरहेको बताएका छन् ।

शुक्रबारको संसद बैठक सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘पार्टी टुक्राउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनुमा छैन । ढुक्क हुनुहोस् । कांग्रेस एमाले जस्तो बलियो सरकारको प्राथमिकता यस्ता कुरामा हुँदैन ।’

उनले आफू नेतृत्वको सरकार आगामी ०८४ सालसम्म टसमस नहुने दाबी गरे ।

GIF TIGER CUP

गायिका शान्तिरानी परियारले गाएको ‘म त ढलेँ, ढलेँ’ बोलको गीत स्मरण गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलका नेताहरूले सरकार आजै, अहिल्यै ढल्छ भन्दै हिँडेकोप्रति आपत्ति जनाए । ‘विपक्षमा रहेका साथिहरूले एउटा कुरामा आफूलाई व्यर्थ्यै खेर फालिरहेको छ । सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघे संक्रान्ति आदि इत्यादि,’ प्रधानमन्त्री ओलीले भने, ‘एउटा गीत बजारमा ढलेँ, ढलेँ, भन्ने अलि प्रचारमा छ । त्यस्तै, प्राय आम रुपमा राजनीतिक नेताहरूले गाएको सुन्छु, ढल्यो, ढल्यो, ढल्यो । यो गीत मनोरन्जनका लागि पार्टी उत्सवमा सुहाउला । राजनीतिमा त्यति सुहाउँदैन ।’

प्रधानम्न्त्री ओलीले उक्त गीत मनोरन्जनका मञ्चमा सुहाउने भए पनि राजनीतिक मञ्चमा नसुहाउने दाबी गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन विधेयक ल्याउने स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधन अपरिहार्य बनेकाले सरकारले विधेयक ल्याउने बताएका हुन् ।

‘विभिन्न पक्षसँग सघन विमर्श गरी पहिले संविधान संशोधनका विषयको पहिचान गरिने छ । र, पहिचान गरिएका विषयहरूमाथि संसद्मा प्रतिनिधित्व गर्ने वा बाहिर रहेका दलहरू र सरोकारवालाहरूसँग छलफल गरिने छ,’ प्रधानमन्त्रीले भने, ‘मिलेका कुरामा साझा धारणा बनाइने छ, नमिलेका कुरामा बहस र छलफल गरिने छ ।’

प्रधानमन्त्रीले संविधान संशोधनको कुरा गर्दा सुरुमा विरोध गर्ने दलहरूभित्रै अहिले संविधान संशोधनका विषयमा छलफल भइरहेको सुनेर खुसी लागेको बताए ।

‘यो सरकारले संविधान प्रारम्भ भएपछि अभ्यासमा देखा परेका सबल र दुर्बल पक्ष तथा अभ्यासका क्रममा देखापरेका जटिलताको समीक्षा गरी राजनैतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यसको लागि सरकारमा रहेका नेपाली कांग्रेस र नेकपा (एमाले)ले विज्ञ सम्मिलित आन्तरिक अध्ययन कार्यदल बनाएको छ । त्यससँगै सरकारपक्षीय दलहरुसँगको छलफल गरिनेछ ।’

Leave A Reply

Your email address will not be published.