पोखरा । पोखरा महानगरपालिकाले कोटिहोमका लागि लेकसाइडस्थित रत्नमन्दिर परिसरमा थुपारिएको दाउरा जफत गरेको छ । कोटिहोमका लागि पोखराका विभिन्न वडाबाट काटिएको दाउरा बुधबार महानगरले जफत गरेको हो ।
मेयर धनराज आचार्यका अनुसार ५० ट्रकभन्दा बढी दाउरा महानगरले जफत गरेको छ । मानव सेवा फाउन्डेसनले पोखराका विभिन्न ठाउँबाट चौतारा र रुख ढालेर र दाउरा जम्मा पारेको हो ।
पोखराको पर्यावरणमै असर पर्ने गरी रुख काटिएको भन्दै चौतर्फी आलोचना भएको छ । मेयर आचार्यले कोटिहोम नै गर्न नदिने चेतावनी दिएका छन् । फाउन्डेसनले पोखराको फेवाताल क्षेत्रमा २ महिनासम्म कोटीहोम गर्ने तयारी गरेको छ ।
मेयर आचार्यले कुनै हालतमा पोखरामा कोटिहोम गर्न सम्भव नभएको बताइसकेका छन् । ‘कोटिहोम पोखरामा हुँदैन । त्यति लामो समयसम्म पर्यटकीय सहर पोखरामा ध्वनि बालेर होम हुन सक्दैन,’ उनले भने, ‘अघिल्लो पटक पनि वातावरण प्रदूषण भएर प्लेन नै उड्न नसक्ने अवस्था भाथ्यो । हामीले अनुमति पनि दिएको छैन ।’
४ महिनासम्म पर्यटकको चहलपहल हुने लेकसाइड क्षेत्रमा होम गर्दा पर्यटनमै असर पर्ने उनको तर्क छ । ‘फेवातालको डिलमा ४ महिनासम्म कोटिहोम लगाउने ठाउँ होइन । स्थानीय तहले अनुमति नदिई त्यस्ता होम हुने कुरा सम्भव छैन,’ उनले अघि भने ।
पोखरा फागुनमै २ वटा महायज्ञ भने हुँदै छ । पुम्दीकोटमा फागुन ७ देखि १५ सम्म महायज्ञ हुँदै छ भने सराङकोटमा फागुन १४ देखि २१ गतेसम्म महायज्ञ हुँदैछ ।