पोखरा । बेलायती राजकुमार एडवर्ड र अधिराजकुमारी सोफिया पोखरा आइपुगेका छन् । उनीहरु बिहीबार दिउँसो पोखरा आएका हुन् ।
बुधबार काठमाडौं आएका उनीहरुलाई बिहीबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलगायतले पोखरा विमानस्थलमा स्वागत गरे । सामाजिक सञ्जाल फेसबुकमा स्वागतका तस्वीर राख्दै मेयर आचार्यले लेखेका छन्, ‘तपाईंहरूको भ्रमणले द्विपक्षीय सम्बन्ध सुदृढ गर्नुका साथै पोखराको प्राकृतिक सौन्दर्य, संस्कृति, र आतिथ्यलाई अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन गर्ने विश्वास लिएको छु।’
शुक्रबार पोखराको ब्रिटिश गोर्खा क्याम्पको भ्रमण र पदयात्रा गर्न राजकुमार एडवर्ड पोखरा आएका हुन् । हालै बेलायती सेनामा छनोट भएकाहरुको ब्याज वितरण परेडमा सहभागी हुने छन् ।

राजकुमार एडवर्डले अन्नपूर्ण गाउँपालिकाको लुम्लेबाट पर्यटकीय गाउँ घान्द्रुकसम्म पदयात्रा गर्ने कार्यतालिका छ । उनी शुक्रबार दिउँसो लुम्लेबाट पदयात्रा सुरु गर्ने तयारी रहेको गाउँपालिकाका प्रवक्ता एवं अन्नपूर्ण ७ का वडाध्यक्ष भरतमान गुरुङले जानकारी दिए ।
पहिलो दिन शुक्रबार अन्नपूर्ण–६ लुम्लेबाट हिँडेर उनी अन्नपूर्ण–७ माझगाउँमा बास बस्ने छन् । दोस्रो दिन माझ गाउँबाट तोल्का, लान्द्रुक हुँदै राजकुमार एडवर्ड हुँदुसम्म पुग्ने छन् । त्यहाँबाट उनी गाडीमा घान्द्रुक पुग्ने छन् ।
पहिलो दिन एक घण्टा र दोस्रो दिन करिब चार घण्टा गरेर करिब पाँच घण्टा राजकुमार एडवर्डले पैदल यात्रामा बिताउने प्रवक्ता गुरुङले बताए । शनिबार उनी घान्द्रुकमै बास बस्ने बताइएको छ ।
उनी माघ २७ गते पोखराबाट काठमाडौं हुँदै स्वदेश फर्किने तयारी छ ।
#princeedwardinnepal