पोखरा । सांगीतिक विरासत फर्काउने उद्देश्यसहित पोखरामा शनिबार ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम आयोजना हुँदैछ ।
पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा यो कार्यक्रम गर्न लागेको हो ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको विशेष आतिथ्यतामा हुने कार्यक्रम शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म हुनेछ ।

१९९० को दशकमा व्याण्डहरुको राजधानी बनेको पोखराको विरासत फर्काउन कार्यक्रम गर्न लागिएको कार्यक्रम मूल संयोजक तथा गण्डकी प्रज्ञा प्रष्ठिानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रममा नब्बेको दशकमा उदाएर राष्ट्रिय/अन्तर्राष्ट्रिय ख्याती कमाउन सफल सात वटा ब्याण्डहरुले प्रस्तुति दिनेछन् ।
कन्दरा ब्याण्ड (विवेक श्रेष्ठ), डि–मर्चा ब्याण्ड (भाष्करध्वज श्रेष्ठ), लेकाली ब्याण्ड (नवीन गुरुङ र भाई गुरुङ), देउराली ब्याण्ड (शान्त बज्राचार्य), ब्रोसिस ब्याण्ड (प्रकाश राना), मध्याह्न ब्याण्ड (कर्णदास र कुमार गुरुङ) तथा भेगाबोण्ड ब्याण्ड (श्यामसुङ तामाङ) गुञ्जिनेछन् ।