पोखरा । पोखरा महानगरपालिकाले सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने भएको छ । फागुन ३ गते नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा एक औपचारिक कार्यक्रम गरी पोखरा भ्रमण वर्ष घोषणा गरिने महानगरले जनाएको छ ।
भ्रमण वर्ष वर्षअवधिभर पर्यटन प्रवर्द्धन तथा पर्यटकका लागि विभिन्न प्याकेजका कार्यक्रम उपलब्ध गराउन पर्यटन व्यवसायीलाई महानगरले आग्रह गरेको छ ।
पोखरा गत चैत ४ गते पर्यटकीय राजधानी घोषणा भएको थियो । पर्यटकीय राजधानी घोषण भएको एक वर्ष भएको अवसरमा महानगरले पोखरा भ्रमण वर्ष मनाउन लागेको हो ।

भ्रमण वर्षअवधिभर पोखरामा २० लाख पर्यटक भित्र्याउने महानगरको लक्ष्य छ । ‘भ्रमण वर्षभरि नै पोखराको प्रवद्र्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिने छ,’ पोखरा महानगर प्रमुख धनराज आचार्यले भने, ‘ विदेशमा पोखराको प्रवर्द्धन गर्ने गरी सद्भावना दूतसमेत घोषणा गर्ने योजना पोखरा महानगरपालिकाले बनाएको छ ।’
घोषणा कार्यक्रमका लागि मेयर आचार्यको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मूलआयोजक समिति, प्रमुख आचार्यकै नेतृत्वमा ५१ सदस्यीय एक निर्देशक समिति र अर्को १५ सदस्यीय कार्य सम्पादन समितिसमेत गठन गरिएको छ ।