काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । बिहीबार सम्पन्न मतपरिणामको अन्तिम नतिजा अनुसार भट्टराईले ७६१ मत पाएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेत्र चापागाईंले जम्मा ७३ मत पाएका छन् ।
भट्टराईका प्रतिस्पर्धी नेत्र कास्की अन्नपूर्ण गाउँपालिका ६ लुम्लेका हुन् । उनी नेसपाको विद्यार्थी संगठनको अध्यक्ष थिए ।
आइतबारदेखि प्रज्ञा भवनमा नयाँ शक्तिको महाधिवेशन सुरु भएर नेतृत्व चयनका लागि निर्वाचन भएको थियो ।

उपाध्यक्ष खसआर्यमा ईश्वर रिजाल ३९३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी जनकराज शाहले ३६८ मत पाएका छन् । आदिवासीतर्फ टेकबहादुर बाठामगर ३१९ मत ल्याएर विजयी भएका छन् । प्रतिस्पर्धी बलबहादुर लिम्बूले १६४ मत पाएका छन् । मधेसीतर्फ उमेश साह ३९५ मतले विजयी भएका छन् । प्रतिस्पर्धी चिनक कुर्मीले ३२० मत पाएका छन् ।
यसअघि महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई र दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएका थिए ।
महासचिव खुल्लामा सोनामसिंह स्याङ्तान चार सय ९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी जिएस गुरुङले ३७९ मत पाएका छन् । सचिव महिलामा आशाकुमारी तामाङ ३१४ मत ल्याएर विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी सिर्जना नेपालले २८० मत पाएका छन् । खुला सचिवमा लक्ष्मण कार्की ३५३ मत ल्याएर विजयी भएका छन् । खुला सचिवमा भरत दाहाल पनि ३७९ मत ल्याएर विजयी भएका छन् ।