खोटाङ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन (अनन्त)ले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग पार्टी एकता हुन सक्ने बताएका छन् । ३०औं जनयुद्ध दिवसका अवसरमा बिहीबार खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित कार्यक्रममा बोल्दै पुनले समाजवादीसँग आफूहरुको कार्यदिशामा समानता रहेको बताए ।
यस्तै मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित माओवादी धारका सबै घटकसँग पनि सहकार्य र एकताको नीतिमा आफूहरु रहेको बताए । ‘एकीकृत समाजवादीसँग हाम्रो कार्यनीतिक रुपमा धेरै कुरा मिल्छ, ढिलोछिटो हामी एकै ठाउँमा हुने सम्भावना छ’, उनले भने, ‘युद्ध गर्ने होइन, शान्तिपूर्ण प्रतिस्पर्धाबाटै जान तयार भए वैद्यजी, विप्लवजीहरुसँग पनि एकता हुन्छ । हिजो सँगै लडेका र जनयुद्धको विरासत बोकेका सबै समूहसँग एकताका लागि हामी खुला छौं ।’
उनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको परिपरि कम्युनिष्ट ध्रुवीकरणको प्रक्रिया अघि बढिसकेको दाबी गरे । पुनले आगामी ०८४ को स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा कसैसँग पनि तालमेल नहुने भन्दै अहिल्यैदेखि तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । काँगेस र एमालेप्रति जनताको मोह भंग भएको र विकल्पका रुपमा आफूहरुलाई छान्ने अवस्था बनेको दाबी उनको छ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा कतिपय स्थानमा माओवादी उम्मेदवारले काँग्रेस–एमालेका साझा उम्मेदवारलाई हराएर जित निकालेबाट उक्त तथ्य पुष्टि हुने तर्क पुनले गरे ।