पाेखरा । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे मनाइँदै छ । पर्यटनको राजधानी पोखरामा आज साँझ ४ बजेपछि भव्य कन्सर्ट हुँदैछ ।
लेकसाइडको बाराहीघाटमा दुई चर्चित ब्याण्ड ‘द एज ब्याण्ड’ र ‘स्वर’सहितको कन्सर्ट हुनेछ । फरेन्हाइट क्लबको आयोजनामा प्रचार नेपाल र आर्बिटरी इभेन्ट्सले यो कन्सर्ट गर्न लागेका हुन् ।
पोखरेली ब्याण्ड ‘द एज’ले आफ्नो २५ औं वार्षिकोत्सव मनाउँदा स्वरले भने पहिलोपटक पोखरामा संगीत पारखीलाई आफ्ना गीतमा झुमाउने प्रचार नेपालका सञ्चालक आशिष पुरीले जानकारी दिए । द एज ब्याण्ड सन् १९९८ मा स्थापना भएको थियो र स्थापनाको दुई वर्षपछि सन् २००० मा ‘मेरो आँसु’ एलबम सार्वजनिक गरेको थियो । त्यसैले उक्त ब्याण्डले फेब्रअरी १४ मा आफ्नो २५ औँ वार्षिकोत्सव संगीतप्रेमी माझ मनाउने भएको हो ।

द एज ब्याण्डको ‘नचाहेको होइन’, ‘तिम्रो याद’, ‘सम्झिने मुटु’, ‘मेरो आँसु’, ‘नछोड्नु यो साथ’ लगायत गीत युवा पुस्ताले रुचाएका छन् । स्वरको ‘अपरीभाषित’, ‘बादल सरी’, ‘विस्तारै’, ‘उडिरहेछन्’ निकै रुचाइएका गीत हुन् ।
पोखराकै द इन्फ्लेम ब्याण्ड र काठमाडौंका आविष्कार केसीको सांगीतिक प्रस्तुति रहने कार्यक्रम संयोजक महेश्वरसिंह भण्डारीले जानकारी दिए । कन्सर्टका लागि जेनेरल टिकटको एक हजार रुपैयाँ र भीआइपी टिकटको दुई हजार रुपैयाँ शुल्क तोकिएको उनले जानकारी दिए । टिकट मोबाइल वालेट ‘खल्ती एप’ बाट काट्न सकिने भण्डारीले बताए ।
आजको कन्सर्टमा ३ हजारभन्दा बढी दर्शक उपस्थित हुने आयोजकको अनुमान छ ।