काठमाडौँ । पोखरामा कार्यक्रम उद्घाटनका क्रममा शनिबार बेलुन पड्केर उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएका छन् । पोखरा भ्रमण वर्ष २०२५ को घोषणा समारोहमा हाइड्रोजन भरिएको बेलुनले आगो भेट्दा पड्किएको हो ।
घटनापछि दुवैलाई फिस्टेल अस्पताल लगिएको थियो । त्यहाँबाट दुवैलाई हेलिकप्टरमार्फत कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ । दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले प्रारम्भिक मूल्याङ्गन अनुसार दुवैको ५-६ प्रतिशत शरीर जलेको जानकारी दिएका छन् । तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

दुई जनाको उपचारमा प्रा. डा विडी झा, डा प्रविण गिरी लगायतका सघन उपचार कक्षको टोली सामेल रहेका छन् । त्यस्तै प्रा. डा. शंकर मान राई, डा विशाल कार्की, डा. मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली र डा. प्रयुस अर्याल लगायतको आकस्मिक उपचार टोली छन् ।
रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली पनि दुई जनाको उपचारमा संलग्न रहेका छन् ।