पाेखरा । २४औं आहा रारा पोखरा गोल्डकपको उपाधि उज्वेकिस्तानको ब्ल्याक बुल्सले जितेको छ । शनिबार पोखरामा ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई पराजित ब्ल्याक बुल्सले उपाधि उचालेको हो ।
पोखरा रंगशालमा भएको खेलमा ३–१ गोल अन्तरले पुलिसलाई हराउँदै प्रतियोगितामा पहिलोपटक सहभागी भएको उज्बेकिस्तानी क्लबले उपाधि जितेको हो ।
ब्ल्याक बुल्सले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेको थियो । ब्ल्याक बुल्सका लागि कुभोनचबेक ओलिनोभले ४० औं, असिलबेक ओरिफजोनोभले ५८ औं तथा साभकातजोन सात्तोरोधले ६६औं मिनेटमा गोल गरे । पुलिसका शिशिर चौधरीले ७४औं मिनेटमा सान्त्वना गोल गरे ।

यसअघि ब्ल्याक बुल्सले क्वाटरफाइनलमा भारतको थण्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० र सेमिफाइनलमा थ्री स्टारलाई ४–० ले पराजित गरेको थियो ।
सातौँपटक च्याम्पियन बन्ने लक्ष्य राखेको पुलिस भने फाइनलमा उज्बेकिस्तानी क्लबसामु फिक्का रह्यो । आहारारा पोखरा गोल्डकपको उपाधि जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी क्लब बनेको छ । यसअघि २०६२ सालमा अफ्रिकन खेलाडीहरू समावेश गरेर बनाइएको अफ्रिकन युनाइटेडले उपाधि जितेको थियो ।
विजेता ब्ल्याक बुल्सले १२ लाख १ हजारसहित आहा राराको ट्रफी प्राप्त गर्यो भने उपविजेता पुलिसले ६ लाख १ हजारमा चित्त बुझायो ।
आहा गोल्डकप जित्ने ब्ल्याक बुल्स नवौं टोली हो । यसअघि पुलिस र मनाङ मर्स्याङ्दी क्लबले समान ६/६ पटक, थ्री स्टार क्लबले ५ पटक, संकटा क्लबले २ पटक , अफ्रिकन युनाइटेड, आयोजक सहारा क्लब पोखरा, एपिएफ र त्रिभुवन आर्मी फुटबल क्लब समान १/१ पटक च्याम्पियन बनेका थिए ।