GIF TIGER CUP

परराष्ट्रमन्त्री र यूएईका विदेश राज्यमन्त्रीबीच भेट, पोखरा‐दुबई उडानका लागि आग्रह

ओमन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र संयुक्त अरब इमिरेट्स (यूएई)का विदेश, अर्थ तथा व्यापार मामिलासम्बन्धी राज्यमन्त्री अहमद अली अल सायेघबीच भेटवार्ता भएको छ । आइतबार ओमनको राजधानी मस्कटमा उनीहरुले शिष्टाचार भेटवार्ता गरेका हुन् ।

आठौँ हिन्द महासागरीय सम्मेलनमा सहभागिताका लागि ओमनको मस्कटमा रहेका उनीहरुबीच आइतबार साइडलाइन भेट भएको हो । भेटका क्रममा उनीहरूका बीचमा नेपाल र संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्धका साथै श्रम, पर्यटन तथा आर्थिक विकासका विविध विषय र जलवायु परिवर्तनका कारण परेको प्रभावलाई न्यूनीकरण गर्नका लागि आवश्यक सहकार्यका विषयमा कुराकानी भएको थियो ।

मन्त्री डा राणाले सो अवसरमा नेपाली जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएकामा मन्त्री सायेघमार्फत् संयुक्त अरब इमिरेट्स सरकारलाई विशेष धन्यवाद ज्ञापन गरिन् । त्यस अवसरमा मन्त्री सायेघले यूएईको आर्थिक सामाजिक विकासमा नेपाली जनशक्तिको ठूलो योगदान रहेको भन्दै प्रशंसा गरे ।

GIF TIGER CUP

उनीहरूका बीचमा दुई देशबीच पर्यटन, आर्थिक विकास, व्यापार साझेदारका क्षेत्रमा आगामी दिनमा गर्न सकिने सहकार्य एवं लगानीका बारेमा पनि छलफल भएको थियो ।

मन्त्री डा राणाले नेपालको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको दुबईबाट प्रत्यक्ष उडान सुरु गर्न मन्त्री सायेघसँग आग्रह गरेकी थिइन् । मन्त्री सायेघले यस विषयमा तत्कालै प्राविधिक अध्ययन थाल्ने र उडान सुरु गर्ने योजनाका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

साथै सो भेटका क्रममा मन्त्री डा. देउवाले नेपालले क्षेत्रीय र विश्वव्यापी महत्वका गम्भीर मुद्दाहरूमा छलफल गर्न एक विश्वव्यापी संवाद मञ्चका रुपमा आगामी मे महिनामा काठमाडौंमा सगरमाथा संवादको आयोजना गरेको जानकारी दिइन् । उनले जलवायु परिवर्तनको अवस्थामा केन्द्रित हुने सो संवादमा भाग लिन यूएईलाई पनि आमन्त्रण गरिन् ।

Leave A Reply

Your email address will not be published.