newa srijana

प्रदेश प्रमुख भट्ट अस्पतालबाट डिस्चार्ज

पोखरा । श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले पाँच दिनदेखि अस्पतालमा उपचाररत गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट डिस्चार्ज भएका छन् ।

पोखरा महेन्द्रपुलस्थित ओम हस्पिटलमा उपचार गराइरहेका उनलाई सोमबार बिहान डिस्चार्ज गरिएको प्रदेश प्रमुखका प्रेस संयोजक रञ्जन अधिकारीले जानकारी दिए ।

वरिष्ठ छातीरोग विशेषज्ञ डा. सीपी आचार्य नेतृत्वको चिकित्सकीय टोलीको निगरानीमा उनको उपचार भएको थियो ।

प्रदेश प्रमुख भट्टले गुणस्तरीय स्वास्थ्य सेवाका लागि हस्पिटल व्यवस्थापनका साथै उपचारमा संलग्न चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरेका छन् । उनले भने, ‘कुनै पनि बिरामीलाई आधा सञ्चो त अस्पतालको वातावरण, डाक्टर, नर्सको व्यवहारले नै हुन्छ भनिन्छ । निकै पारिवारिक वातावरणमा सेवा गर्नुभयो । यसका लागि धेरै धन्यवाद व्यक्त गर्दछु ।’

World link net

अस्पतालले एक विज्ञप्ति जारी गर्दै धन्यवादसहित स्वास्थ्यलाभको कामना गरेको छ । अस्पतालका प्रबन्ध निर्देशक प्रा.डा. देवकुमार थापा, प्रा.डा अर्जुन आचार्य र डा. सि.पी. आचार्यले प्रदेश प्रमुखले अस्पतालको चिकित्सक टोलीलाई विश्वास गरी स्वास्थ्य सेवा लिएकोमा आभार व्यक्त गरे ।

प्रदेश प्रमुख भट्टले अस्पताल बसाईंको क्रममा प्रत्यक्ष भेटघाटका लागि पाल्नुहुने र टाढैबाट स्वास्थ्यलाभको कामना गर्नुहुनेप्रति पनि धन्यवाद व्यक्त गरेका छन् ।

गत फागुन ८ गते बिहीबार साँझ अस्पताल भर्ना भएका उनलाई भेटेर स्वास्थ्यलाभको कामना गर्नेहरुको भीड बढेपछि शुक्रबार अस्पतालले प्रत्यक्ष भेटघाट स्थगन गरेको थियो ।

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी, प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री सीता सुन्दास, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, एमाले गण्डकी सचिव धनञ्जय दवाडी, नेता माधव बास्तोलालगायतले प्रत्यक्ष भेट गरी स्वास्थ्यलाभको कामना गरेका थिए ।

सिटीजन फनिच्रर