वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ ‘गोल्ड कार्ड’ आवासीय अनुमति ५० लाख अमेरिकी डलरमा बिक्री गर्ने योजना सार्वजनिक गरेका छन् ।
ट्रम्पले परम्परागत ग्रिनकार्डको उच्च मूल्यको संस्करण नयाँ भिसाको बिक्रीले रोजगारी सिर्जना गर्ने र अमेरिकी राष्ट्रिय घाटा कम गर्न प्रयोग गर्न सकिने बताएका हुन् ।
आफ्नो दोस्रो कार्यकालको पहिलो प्राथमिकता लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गरेका रिपब्लिकन राष्ट्रपति ट्रम्पले नयाँ कार्ड अत्यधिक मूल्यवान् अमेरिकी नागरिकताको मार्ग हुने बताए । ट्रम्पले भने, ‘धेरै मानिसहरू यो देशमा बस्न चाहन्छन्, र उनीहरूले काम गर्न, रोजगारी प्रदान गर्न र कम्पनीहरू निर्माण गर्न सक्षम हुनेछन् र यसरी आउने पैसा भएका मानिसहरू हुनेछन् ।’

करिब दुई साताभित्र कार्डको बिक्री सुरु हुने ट्रम्पले बताए । ‘हामी यी कार्डहरू मध्ये १० लाख बिक्री गर्न सक्षम हुनेछौं । हामीले यो सबै काम अमेरिकी कानुन अनुरूप नै गरेका छौं,’ ट्रम्पले भने ।
उनले नयाँ गोल्ड कार्डको लागि सबै आवेदकहरूलाई सावधानीपूर्वक जाँच गरिने बताए । तर, धनी रुसीहरूले पनि आवेदन दिन पाउँछन् कि सक्दैनन् भन्ने प्रश्नमा ट्रम्पले यो सम्भावना रहेको बताए । तीन वर्षअघि मस्कोले युक्रेनमाथि आक्रमण गरेयता थुप्रै रुसी कुलीन वर्गपश्चिमी प्रतिबन्धको चपेटामा परेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै रुसमाथिको प्रतिबन्ध फुकुवा गर्न कुनै न कुनै समयमा सम्भव भए पनि अहिले वार्ताको टेबलमा नरहेको बताए । लामो व्यावसायिक करियरमा होटल र क्यासिनोको शृङ्खलाबद्ध ब्रान्डिङ गरेका ट्रम्पले नयाँ कार्डको नाम पनि आफ्नो नाममा राख्न सकिने सुझाव दिएका छन् ।