पोखरा । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापति पदका उम्मेद्वार घोषणा गरेको छ । पार्टी जिल्ला कमिटी सचिव दर्शन लामाको प्रमुख आतिथ्यतामा सोमबार क्याम्पस गेटमा आयोजित कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य एवं विद्यार्थी इलाका इन्चार्ज महेन्द्र उपाध्याय (मन्नु)ले उम्मेद्वार घोषणा गरेका हुन् ।
आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुबाट संगठनका क्याम्पस कमिटी संयोजक आविष्कार केसी सभापति लड्ने इन्चार्ज पौडेलले सार्वजनिक गरे । प्रत्यक्ष निर्वाचन हुने सचिव, कोषाध्यक्ष र सदस्यका उम्मेद्वारको नाम मनोनयन दर्ताअघि घोषणा गरिने अनेरास्ववियु क्याम्पस कमिटी सचिव सचिन अधिकारीले जानकारी दिए । स्ववियु कार्यसमितिका उपाध्यक्ष, सहायक सचिव र केही सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् ।

उम्मेद्वार सार्वजनिक कार्यक्रममा बोल्दै एमाले कास्की सचिव दर्शन लामाले अनेरास्ववियुलाई निर्वाचनमा पराजित हुने छुट नरहेको बताए । विद्यार्थीको मुद्दा उठाउँदै आएकाले अनेरास्ववियुमा विद्यार्थीको आकर्षण देखिएको उनको भनाइ थियो ।
उम्मेद्वार घोषणापछि शुभकामना दिन एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी, उपसचिव लालबहादुर परियार, एमाले कास्कीका पूर्वउपाध्यक्ष तेजनारायण अधिकारी, एमाले नेतृ एवं पोखरा–१७ की वडाध्यक्ष राधिका शाही, अनेरास्ववियु केन्द्रीय सदस्य विनय पराजुली, अनेरास्ववियु प्रदेश उपाध्यक्ष विश्वदर्शन पराजुली, कास्की जिल्ला अध्यक्ष सन्तोष पोखरेललगायत जनप्रिय क्याम्पस गेट पुगेका थिए ।
त्रिवि स्ववियुअन्तर्गत सोमबार क्याम्पसहरूमा विद्यार्थी संगठन दर्ता भएका छन् । स्ववियु निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका छ ।
जनप्रिय बहुमुखी क्याम्पसमा करिब ३ हजार ५ सय विद्यार्थी छन् । क्याम्पसले बुधबार मतदाता नामावली प्रकाशन गरेपछि क्याम्पसमा कति सदस्यीय समिति बन्ने भन्ने तय हुनेछ । हाल विद्यार्थी संख्याअनुसार मतदाता नामावलीको संख्या आएमा जनप्रियमा १९ सदस्यीय समिति बन्ने छ । त्यसमा दुई पदाधिकारीसहित १० जना समानुपातिक र तीन पदाधिकारीसहित ९ जना प्रत्यक्षतर्फका हुनेछन् ।
को हुन् आविष्कार ?
स्याङ्जा चापाकोट घर भएका आविष्कार जनप्रिय क्याम्पसमा एम.बी.एस दोस्रो सेमेष्टरमा अध्ययनरत छन् । उनले सोही क्याम्पसबाट व्यवस्थापन संकायमा कक्षा १२ उत्तीर्ण गरे ।
कक्षा ११/१२ पढिरहँदा उनी अनेरास्ववियुको क्याम्पस कमिटीमा आबद्ध भएका थिए । आविष्कारले जनप्रियमै बी.बी.ए सके ।
२०७३ सालमा उनी संगठनको कक्षा ११/१२ कमिटीको सदस्य भए । २०७४ देखि २०७८ मा उनी संगठनको क्याम्पस कमिटी सदस्य र सचिवालय सदस्य भए । २०७८ मा उनले क्याम्पस कमिटी संयोजकको जिम्मा पाए । २०७९ मा क्याम्पस कमिटी सचिव बने । त्यसपछि २०८० देखि उनी संगठनको क्याम्पस कमिटी संयोजक छन् ।