पोखरा । सराङकोटमा जारी श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव अन्त्यतिर आइरहँदा भक्तजनको सहभागिता एवम् दान रकम बढेको छ ।
महायज्ञको छैटौं दिन सोमबार करिब २० हजार भक्तजनले यज्ञ अवलोकन गरेका छन् । त्यहाँ सोमबारमात्रै ४० लाख बढी दान संकलन भएको महायज्ञका कोषाध्यक्ष शिव कोइरालाले जानकारी दिए । योसँगै हालसम्म यज्ञमा रु. १ करोड ५३ लाख रूपैयाँभन्दा बढी दान संकलन भएको छ ।
सोमबार सयभन्दा बढी आमा समूह, टोल विकास संस्था तथा अन्य संघसंस्थाले सहयोग गरे । पोखराका विभिन्न वडा, छिमेकी पालिका, पर्वत, तनहुँ एवम् धादिङबाट समेत विभिन्न संघसंस्था सराङकोट धाम पुगी दान गरेका हुन् ।

सोमबार दान लिन तथा भक्तजनको व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे प¥यो । यसअघि महायज्ञ स्थल तथा धाम गरी २ ठाउँबाट दान संकलन गर्ने गरिएकोमा सोमबार सचिवालयबाट समेत गरी ३ स्थानबाट दान संकलन भयो । भक्तजनको उल्लेख्य सहभागिता हुँदा केबलकारमा दिनभर ओहोरदोहोर चलिरहयो ।
सराङकोटमा वि.स २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ ।
हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङग, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका तथा भैरव मन्दिर, स्वागतद्वार निर्माण भइसकेका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । त्यहाँ अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ ।