GIF TIGER CUP

नेविसंघको गुटले पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा लफडा, स्ववियु निर्वाचन रोक्न सक्रिय

पोखरा । पोखराको लामाचौरस्थित इन्जिनियरिङ अध्ययन संस्थान (पश्चिमाञ्चल क्याम्पस)मा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचन रोक्न नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघ सक्रिय बनेको छ ।

स्ववियुको उम्मेदवारको मनोनयन दर्तामा सचिव पदको उम्मेदवारको विषयले आन्तरिक किचलो भएपछि नेविसंघ निर्वाचन रोक्न सक्रिय बनेको हो ।

गत फागुन २६ गते क्याम्पसमा मनोनयन पत्र वितरण गरियो । सो दिन अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी र ३ जना स्वतन्त्र उम्मेदवारसहित ६ जनाले मनोनयन पत्र लिएका थिए । ३ वटै संगठनसहित एक जना स्वतन्त्र उम्मेदवारले फागुन २७ गते मनोनय पत्र बुझाए । तर मनोनयन पत्र बुझाउँदा नेविसंघमा भने आन्तरिक समस्य देखियो ।

GIF TIGER CUP

आन्तरिक विवाद र गुटको लडाइँमा नेविसंघले सचिव पदको उम्मेदवारी दर्ता गर्न सकेन । सचिव दर्ता गर्न नसकेको नेविसंघ त्यसपछि स्ववियु निर्वाचन रोक्न सक्रिय भएको हो । नेविसंघकै एउटा गुटले आफ्नो भागबन्डामा परेको सचिव पद अर्को गुटले हस्तक्षेप गरेर सचिव दर्ता गरेको भन्दै मनोनयन पत्र नै च्यातिदिए ।

सचिव पदमा नेविसंघले कुशल सापकोटालाई सचिव पदको टिकट दिएको थियो । पछि प्रशान्त जोशीलाई दिइयो । त्यसपछि जोशीले मनोनयन फारम भर्दा कुशल सापकोटा पक्षले च्यात्यो ।

च्यातिएको मनोनय पत्र निर्वाचन समितिमा बुझाइयो । निर्वाचन समितिले तत्काल सर्वदलीय बैठक बोलायो । बैठकमा नेविसंघले निर्वाचन समितिको निर्णय नै सर्वमान्य छ भनेर स्वीकार गरे । सोही सहमतिअनुसार निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्‍यो । फागुन २८ गते नामावाली सचिव बिना प्रकाशित भयो । सचिव बिना नेविसंघ चुनावमा जान नसक्ने भएपछि चुनाव रोक्न सक्रिय भएको छ । बुधबार क्याम्पस गेटमा नेविसंघले विरोध सभा पनि आयोजना गरेको थियो ।

नेविसंघले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्ने र निर्वाचन रोक्ने योजना बनाएको छ ।

Leave A Reply

Your email address will not be published.