
पोखरा । प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजतन्त्र पुनःस्थापना हुने कुनै सम्भावना नरहेको भन्दै त्यस्ता भ्रमहरू त्याग्न आग्रह गरेका छन्। शुक्रबार पोखरामा राष्ट्रिय युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले लोकतान्त्रिक व्यवस्था र जनअधिकारको रक्षा गर्न एमाले सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गरे।
ओलीले राजतन्त्र फर्काउने चर्चालाई भने-‘नेपाली जनताले राजतन्त्रलाई उहिल्यै उखेलेर फाले। अहिले संविधान, संसद, राष्ट्रपति र स्वतन्त्र न्यायालयसहित बलियो लोकतान्त्रिक व्यवस्था छ। हामी छँदैछौं, राजतन्त्र फर्काउने सपना देख्नेहरूले बेकारमा भ्रम नपालुन्।’
उनले जेठ १५ मा राजालाई सिंहासनमा राख्ने भन्ने राजावादीहरूको दाबीलाई भन्दै थपे-‘घरमा सानो सिंहासन बनाएर राख्लान्, तर देशको सिंहासन त कब्जा भएको छैन गइसक्यो।’
प्रधानमन्त्री ओलीले विगतलाई स्मरण गर्दै राजतन्त्रको अन्त्य जनताको शक्तिको परिणाम भएको उल्लेख गरे। ‘जंगलमा जथाभावी हिंड्ने, जसलाई पायो त्यसलाई आक्रमण गर्ने राजतन्त्रलाई हामीले खोरमा थुनेर, त्यहाँबाट पनि निकालेर मुन्ट्याएर फालेका हौं’, उनले भने।

वैशाख ११ गते जनताले आफ्नो अधिकार फिर्ता लिएको र राजाले आत्मसमर्पण गरेको दिन भएको स्मरण गर्दै उनले राजावादीहरूले त्यसलाई उत्सवको रूपमा मनाउन खोज्दा आफ्नो योजना जेठ १५ मा सारेको व्यंग्य गरे।
प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको शासनकाललाई कानमा घुसेको कन्सुत्तोजस्तो उफ्रने र अत्याचार गर्ने समयको रूपमा चित्रण गरे। उनले १९ दिनमै जनताले हतियारधारी राजालाई घुँडा टेकाएको उल्लेख गर्दै कुनै पनि प्रतिगामी वा जनविरोधी कदमलाई जनशक्तिले ध्वस्त पार्ने चेतावनी दिए। राष्ट्रिय स्वाधीनता, जनताको हकअधिकार र लोकतान्त्रिक स्थिरताको रक्षा गर्न सरकार र एमाले सधैं अग्रभागमा छ, उनले ठोकुवा गरे।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्रा.डा. जगमान गुरुङप्रति कटाक्ष गर्दै ओलीले भने, ‘उहाँले ज्ञानेन्द्रको कुण्डली हेरेर राजा बन्छ भन्नुभयो रे। म मेरो कुण्डली पठाउँछु, जनताको कुण्डली पनि हेर्नुहोस्, त्यसले के भन्छ थाहा हुन्छ। उनले राजावादीहरूको आन्दोलनलाई “भ्यागुताको ट्वारट्वार”सँग तुलना गर्दै यस्ता हल्लाहरू चाँडै हराउने दाबी गरे।
ओलीले एमालेमाथि भइरहेका आक्रमणहरूको चर्चा गर्दै पार्टीले राष्ट्रिय हित र लोकतन्त्रका लागि गरेको योगदानलाई बिर्साउने प्रयास भइरहेको बताए। उनले आगामी १४ महिनापछि सरकार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरी निर्वाचन गराउने प्रतिबद्धता दोहोर्याए। साथै, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति कायम राख्ने उनको भनाइ थियो।
“दरबार हत्याकाण्डपछि लखेटिएको पूर्वराजाको शासन देख्यौं। जनताले त्यसलाई फाल्यो। अब कुनै पनि देशद्रोही वा जनविरोधी गतिविधिलाई जनताले टुलुटुलु हेर्दैनन्,” उनले भने। राजतन्त्र फर्कने कुनै भविष्यवाणी सत्य नहुने र वर्तमान राजनीतिक स्थिरताले लोकतन्त्रलाई थप बलियो बनाउने उनको उद्घोष थियो।
