कोटि होम १

चिनियाँ टोली पोखरामा सि झाङ उपप्रमुखसँग व्यापार र पर्यटनमा सहकार्यको कुराकानी

पोखरा । जनवादी गणतन्त्र चीनको सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बाको नेतृत्वमा आएको ६ सदस्यीय टोलीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग भेटवार्ता गरेको छ। ल्हासाबाट हिमालयन एयरलाइन्सको विमानमार्फत पोखरा पुगेको यो टोलीले मेयर आचार्यको कार्यकक्षमा दुई पक्षीय हितका विषयमा कुराकानी गरेको हो।

भेटमा मेयर आचार्यले पोखराबाट चिनियाँ बजारमा निर्यात गर्न सकिने वस्तुको सम्भावना पत्ता लगाउन एक अध्ययन समिति बनाउने प्रस्ताव राखे। नेपालको व्यापार घाटा कम गर्न पोखराका कृषिजन्य उत्पादनलाई चीनमा निर्यात गर्न सकिने सम्भावनाबारे छलफल भएको छ। डान बाको टोलीले पनि यस्ता उत्पादनको सम्भावना अध्ययन गर्न समिति गठनको प्रस्तावलाई स्वागत गरेको छ।

मेयर आचार्यले पोखरामा होटल, पर्यटन, उद्योग र कृषिमा लगानीका ढोका खुला रहेको बताउँदै चिनियाँ व्यवसायीहरूलाई लगानीका लागि आह्वान गरे। उनले पोखरालाई चीनका सहरहरूसँग भगिनी सम्बन्ध विस्तार गरी संस्कृति, शिक्षा, स्वास्थ्य, प्रविधि र रोजगारीका क्षेत्रमा साझेदारी गर्न तयार रहेको बताए। साथै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका सहरहरूमा नियमित उडानमार्फत पर्यटन प्रवर्द्धन गर्न पनि उनले जोड दिए।

Nawa Srijana
पोखरा महानगरका मेयर धनराज आचार्यलाई सि झाङ स्वायत्त जनसरकारका उपप्रमुख डान बाले मायाको चिनो प्रदान गर्दै सहकार्यको सन्देश व्यक्त गरेका छन्

उता, उपप्रमुख डान बाले नेपाल-चीन सीमाका १४ नाकालाई सुचारु गर्न आफ्नो क्षेत्रमा पूर्वाधार तयार भइसकेको जनाए। उनले नेपालीका लागि भिसा प्रक्रिया सहज बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल र चीनको सम्बन्ध हिमालयको सभ्यतामा आधारित पुरानो र गहिरो रहेको उल्लेख गर्दै उनले सन् २०१९ को चिनियाँ राष्ट्रपति भ्रमणले यो सम्बन्ध थप बलियो भएको बताए।

पोखराको प्राकृतिक सौन्दर्यबाट प्रभावित डान बाले यहाँको कृषिजन्य उत्पादनलाई चिनियाँ बजारमा लैजान सकिने र यसले दुई देशबीच व्यापारको नयाँ अध्याय खोल्ने विश्वास व्यक्त गरे।

चिनियाँ टोलीमा उपसचिव गाओ बाओजुन, ल्हासा भन्सारका कमिसनर वाङ होनघान, व्यापार विभागका उपनिर्देशक योय गाउओई, अनुसन्धान अधिकृत गेसाङ लेङ्जि र सूचना विभागका प्रतिनिधि जेन हाईहेङ सहभागी थिए। पोखराबाट मेयर आचार्यसहित उपमेयर मन्जुदेवी गुरुङ, प्रवक्ता मोतीलाल तिम्सिना, सूचना अधिकृत कृष्णप्रसाद तिवारी र अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत सुवास ढुङ्गाना सहभागी थिए।

 

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.