कोटि होम १

पाँचौं टाइगर कप भलिबलमा २१ लाख बचत, छैटौं संस्करणको तयारी तीव्र

पोखरा। पोखराको रङ्गशालामा गत माघमा सम्पन्न ‘एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप’ महिला र पुरुष भलिबल प्रतियोगिताले २१ लाख १ हजार ६ रुपैयाँ बचत गरेको छ। टाइगर ग्रुप अफ पोखरा नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नारायणप्रसाद शर्माले प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गर्दै १ करोड ७१ लाख ८९ हजार ५७१ रुपैयाँ आम्दानी र १ करोड ५० लाख ८८ हजार ५६५ रुपैयाँ खर्च भएको जानकारी दिए।

माघ १२ देखि २० गतेसम्म सञ्चालित प्रतियोगितामा पुरुष र महिलातर्फ ६–६ टिमले सहभागिता जनाएका थिए। भारत र थाइल्याण्डका टिमसहित विदेशी क्लबहरूको उपस्थितिले प्रतियोगितालाई थप आकर्षक बनाएको थियो। पुरुषतर्फ नेपाल पुलिस क्लब र महिलातर्फ गण्डकी प्रदेशले उपाधि जितेका थिए। आयोजकका अनुसार पुरस्कार र प्रोत्साहनमा २२ लाख ३९ हजार, नेपाली टिमको व्यवस्थापन र यातायातमा २४ लाख १० हजार र विदेशी टिममा ३५ लाख १७ हजार रुपैयाँ खर्च भएको छ।

शिर्षकअनुसार आम्दानी र खर्च – सार्वजनिक प्रतिवेदनमा हेर्नुहोस्

Nawa Srijana

आम्दानीतर्फ मुख्य प्रायोजक एनसेलले १७ लाख, सहप्रायोजक सुश्री मिडिया प्रालिले १६ लाख, प्रदेश खेलकुद परिषद् गण्डकी र पोखरा महानगरपालिकाले १०–१० लाख रुपैयाँ सहयोग गरेका थिए। अध्यक्ष शर्माले बचत रकम सामाजिक सेवा, स्वास्थ्य, शिक्षा र खेलकुद विकासमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे। सोहीअनुसार प्रदेश खेलकुद परिषद् गण्डकीलाई खेलाडी कल्याणकारी कोषका लागि १ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ।

सो अवसरमा कास्की जिल्ला खेलकुद विकास समितिका नवनिर्वाचित पदाधिकारी, खेलकुद पत्रकार मञ्च गण्डकीको नयाँ कार्यसमिति र स्पोर्टस् अवार्डमा वर्ष खेलाडी तथा उत्कृष्ट पत्रकारलाई सम्मान गरियो।

टाइगर ग्रुपले छैटौं टाइगर कप भलिबल प्रतियोगिता माघ ९ देखि १७ गतेसम्म आयोजना गर्न नेपाल भलिबल संघसँग स्वीकृति मागेको छ। बुधबार पोखरामा आयोजित कार्यक्रममा अध्यक्ष शर्माले नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दलाई स्वीकृति पत्र हस्तान्तरण गरे। अध्यक्ष चन्दले छैटौं संस्करणका लागि विदेशी टिमहरूसँग समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.