कोटि होम १

राष्ट्रिय आर्थिक गणना अगामी चैतदेखि फेरि सुरु हुने

पोखरा । सरकारले फेरि एकपटक देशभर आर्थिक गणना गर्ने तयारी थालेको छ। कास्कीस्थित तथ्यांक समन्वय कार्यालयले आइतबार सरोकारवालासँग पोखरामा आयोजना गरेको अन्तर्क्रियामा आगामी चैतदेखि सुरु गरी मध्य असारभित्र प्रतिवेदन तयार पार्ने लक्ष्यसहित गणना अभियान अघि बढाउने जानकारी दिएको हो।

तथ्यांक समन्वय कार्यालय कास्कीका समन्वय अधिकारी नन्दलाल सापकोटाका अनुसार आर्थिक गणनाको यो दोस्रो चरण हो। पहिलोपटक आर्थिक गणना सन् २०७५ मा गरिएको थियो। अब फेरि संघ, प्रदेश र स्थानीय तहमा रहेका विभिन्न व्यवसाय तथा प्रतिष्ठानहरूको विवरण संकलन गर्न लागिएको हो।

‘गणनाको उद्देश्य व्यवसायको संख्या, वैधानिक स्थिति, वैदेशिक लगानी, स्थिर सम्पत्तिमा गरिएको लगानीजस्ता तथ्यांकहरू संकलन गर्नु हो ।’सापकोटाले भने-‘त्यस्तै रोजगारीमा महिलाको सहभागिता, ऋण पहुँच, दर्ता/अदर्ता प्रतिष्ठानको अवस्था लगायतका विवरण पनि समेटिनेछ।’

Nawa Srijana

सापकोटाका अनुसार आर्थिक गणनामा देशभर दर्ता भएका र नभएका दुबै प्रकारका व्यवसाय समेटिने छन्। तथ्यांकका आधारमा नीति निर्माण र योजना तर्जुमा हुने भएकाले गणकहरूलाई प्रतिष्ठानमै पठाएर विवरण संकलन गरिनेछ।

‘स्थलगत अध्ययनपछि प्राप्त तथ्यांक नै भरपर्दो र विश्वसनीय हुन्छ भन्ने विश्वासमा हामी गणक व्यवस्थापन गर्दैछौं,’ उनले भने। तथ्यांक ऐन २०७९ अनुसार संकलित सबै विवरण गोप्य राखिने कानुनी व्यवस्था छ।

गणनाका लागि हाल प्रश्नावलीको तयारी भइरहेको र फागुनसम्म अन्तिम रूप दिएपछि माथिल्लो तहको छलफलमार्फत काम सुरु गरिने योजना छ। आर्थिक क्रियाकलापका २१ वर्गीकरणअनुसार – वित्तीय, बीमा, सञ्चार, कृषि, वन, मत्स्यपालन, खानी उत्खनन लगायतका क्षेत्रमा गणना हुनेछ।

२०७५ मा सम्पन्न आर्थिक गणनामा देशभर ९ लाख २३ हजार ३५६ वटा व्यवसायिक प्रतिष्ठान गणना गरिएको थियो। जसमा गण्डकी प्रदेशमा १ लाख ६८४ र कास्कीमा मात्रै ३० हजार ७४५ थिए। यसपटक गणनाको आकार अझै बढ्ने अनुमान गरिएको छ।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.