newa srijana

पुलिस र न्यू डायमण्ड प्रचण्ड कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा

पोखरा । विभागीय टोली नेपाल पुलिस क्लब र न्यू डायमण्ड स्पोर्ट्स क्लब पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता २०८२ को सेमिफाइनलमा प्रवेश गरेका छन्।

पोखरा रंगशालाको कभर्डहलमा बुधबार सम्पन्न खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम चारमा स्थान बनाएका हुन्। समूह ‘ए’ को दोस्रो खेलमा पुलिसले स्टेप रामपुरलाई र अर्को खेलमा न्यू डायमण्डले घरेलु टोली गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरे।

पुलिसले स्टेप रामपुरलाई २५–७, २५–९ र २५–९ को सहज जित हासिल गरी समूह ‘ए’ को विजेता बन्यो। पुलिसले मंगलबारको उद्घाटन खेलमा अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–० ले हराएको थियो।

Mountain run pokhara click
दोस्रो खेल न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र गण्डकी प्रदेश
सिटीजन फनिच्रर

त्यस्तै, बुधबारको अर्को खेलमा न्यू डायमण्डले नेपाली टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा नयाँ खेलाडीहरू लिएर मैदानमा उत्रिएको गण्डकीलाई २५–८, २५–१० र २५–१२ को सोझो सेटमा पराजित गर्‍यो।

बिहीबार लिग चरणका दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो ३:०० बजे एपिएफ र स्टेप रामपुरबीच तथा दोस्रो खेल ५:०० बजे गण्डकी र एभरेष्ट भलिबल क्लबबीच हुने नेशनल स्पोर्ट्स एकेडेमीका अध्यक्ष दीपक कोइरालाले जानकारी दिए।

प्रतियोगितामा विजेता टोलीले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टोलीले १ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई ३० हजार तथा प्रशिक्षक, सेटर, ब्लकर, लिब्रो, सर्भर र स्पाइकरलगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाई जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धन र विकासका लागि यो प्रतियोगिता जेठ ३१ गतेसम्म पोखरामा आयोजना हुँदै छ। राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघको स्वीकृतिमा नेशनल स्पोर्ट्स एकेडेमीको वार्षिक कार्यक्रमअन्तर्गत यो प्रतियोगिता सञ्चालित छ।

Rabin photo