newa srijana

नेपाल मेडिसिटीमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण

पोखरा । नेपाल मेडिसिटी अस्पतालले पहिलोपटक कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। पोखराका ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण गरिएको हो। उनलाई उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका थिए। यो जटिल शल्यक्रिया जेठ ८ गते सम्पन्न भएको हो।

कलेजो प्रत्यारोपण विश्वकै जटिल शल्यक्रियामध्ये एक हो, जसका लागि ठूलो मल्टिडिसिप्लिनरी टोली चाहिन्छ। यो शल्यक्रियामा दाताको ९ घण्टा र बिरामीको १३ घण्टा लागेको थियो। भारतको अमृता अस्पतालसँगको सहकार्यमा नेपाल मेडिसिटीका चिकित्सकहरूको नेतृत्वमा यो प्रत्यारोपण सफल भएको हो।

ईश्वरको कलेजो र मिर्गौला दुवै बिग्रिएको थियो। उनलाई पेटमा पानी जम्ने, रगत बान्ता हुने, बेहोस हुने र होस हराउने जस्ता गम्भीर समस्या थिए। उपचारका लागि उनी दुईपटक भारत गए, तर त्यहाँको परामर्शले सन्तुष्टि नपाएपछि नेपाल फर्किए। आयुष कार्कीले भने, “नेपालमै विश्वस्तरीय सेवा दिने अस्पताल छ भन्ने थाहा पाएपछि हामी मेडिसिटीमा आएर परामर्श लियौं। यहाँ कलेजो प्रत्यारोपण गरेर मिर्गौला जोगाउन सकिन्छ भन्ने बुझ्यौं र यहीँ शल्यक्रिया गर्ने निर्णय गर्‍यौं। यदि पहिल्यै यहाँ आएको भए, हाम्रो समय र पैसा दुवै जोगिन्थ्यो।”

Mountain run pokhara click

अस्पतालका अध्यक्ष डा. उपेन्द्र महत्तोले भने, “हाम्रो बलियो मल्टिडिसिप्लिनरी टोलीका कारण यो जटिल शल्यक्रिया सम्भव भयो। नेपालीहरूले उपचारका लागि विदेश नजाओस् भन्ने हाम्रो उद्देश्य हो। हामी सुलभ र गुणस्तरीय सेवा दिन प्रतिबद्ध छौं।”

सिटीजन फनिच्रर

नेपालमा हरेक वर्ष २ सयदेखि ३ सय जनालाई कलेजो प्रत्यारोपण आवश्यक पर्छ। दिल्लीस्थित नेपाली दूतावासका अनुसार सन् २०२३–२०२४ मा ७० जनाभन्दा बढी नेपालीले भारतमा कलेजो प्रत्यारोपण गराएका थिए। डा. महत्तोले थपे, “हामीले नेपाली जनशक्तिलाई बलियो बनाएर जटिल स्वास्थ्य समस्यामा पनि गुणस्तरीय सेवा दिने प्रयास गरेका छौं।”

ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभागका प्रमुख प्रोफेसर डा. उमिद कुमार श्रेष्ठले भने, “ईश्वरको स्वास्थ्य निकै जटिल थियो। उनको कलेजो र मिर्गौलाले काम गर्न छोडेको थियो। नेपाल र भारतका अन्य अस्पतालमा उपचार खोज्दा पनि समाधान नभेटिएपछि मेडिसिटीमा सफल प्रत्यारोपण भएको हो।” कलेजो प्रत्यारोपणपछि उनको मिर्गौलामा पनि सुधार देखिएको छ।

कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले भने, “बिरामीको अवस्था जटिल थियो। हामीले पहिले कलेजो प्रत्यारोपण गरेर मिर्गौलाको अवस्था जाँच्ने रणनीति बनायौं। धेरै अस्पताल धाइसकेका र समय बितिसकेका कारण यो शल्यक्रिया चुनौतीपूर्ण थियो, तर हामीले सफलतापूर्वक सम्पन्न गर्‍यौं।”

नेपाल मेडिसिटीले सस्तोमा अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा दिने लक्ष्य राखेको छ। यो अस्पतालले हालसम्म ४५ जनाको मिर्गौला र ५ सयभन्दा बढीको हिप तथा जोर्नी प्रत्यारोपण गरिसकेको छ। अस्पतालले सम्पूर्ण नेपालीको स्वास्थ्य सेवामा समर्पित रहने प्रतिबद्धता जनाएको छ।

Rabin photo