पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘तस्बिरमा पोखरा–९’ शीर्षकमा फोटो प्रदर्शनी हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्वर ९ को सहयोगमा असार १३ गते (शुक्रबार) महेन्द्रपुलस्थित झण्डा पार्क नजिकैको फल्चामा फोटो प्रदर्शनी गरिने भएको हो ।
प्रदर्शनीमा पोखरा महानगरपालिका वडा नम्बर ९ क्षेत्रसँगै पोखराको ऐतिहासिक, पर्यटकीय र समसामायिक विषय झल्कने फोटो राखिने एनपिजेए कास्की अध्यक्ष राम गुरुङले जानकारी दिए । फोटोको माध्यमबाट पोखराको पर्यटन प्रवद्र्धनसँगै पोखराको ऐतिहासिकता दर्साउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको उनले सुनाए ।
पोखरामा रहेका फोटो पत्रकारहरुको सीप र कला प्रदर्शनमा पनि यो कार्यक्रमले सघाउने उनको भनाइ छ । फोटोको माध्यमबाट पर्यटकले पोखराका बारेमा छिटो जानकारी प्राप्त गर्न सक्ने भएकाले फोटो पत्रकारले गर्न लागेको कार्यक्रममा वडा कार्यालयले साथ दिएको पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिए ।
पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको र पोखरा भ्रमण वर्ष २०२५ सञ्चालन भइरहेको समयमा फोटो प्रदर्शनी महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
