पोखरा । पहिलो पाइला नेपाल, पोखराले स्याङ्जाको आँधीखोला–५ स्थित आँधीखोला इङ्लिस बोर्डिङ स्कूलमा कृषि सचेतनामूलक प्रशिक्षण दिएको छ ।
संस्थाको “कर्म शिक्षा ः विद्यार्थीसँग पढ्दै कमाउँदै” अभियानअन्तरगत उक्त प्रशिक्षण भएको हो ।
शाखा सचिव विमान अर्यालले विद्यार्थीलाई प्रशिक्षण दिँदै नर्सरी ब्याड निर्माण, फोहोरबाट उपयोगी वस्तु, झोलमल बनाउने तरिका र सयपत्री फूलको खेतीमार्फत आयआर्जनको बाटो सिर्जना गर्ने विषयमा सिकाए ।
प्रधानाध्यापक स्मृति काफ्लेले कर्म शिक्षालाई विद्यालयले उच्च प्राथमिकता दिएको बताइन् । उनले भनिन्, “हामी विद्यार्थीहरूलाई कृषि खेतीसम्बन्धी ज्ञान प्रदान गरी उनीहरूले आफ्नै मेहनतले तरकारी र सयपत्री फूल उत्पादन गर्न सक्ने बनाउन चाहन्छौँ । यसले विद्यालयमै आवश्यक तरकारी र फूलको आपूर्ति गर्न मद्दत गर्नेछ ।”
शाखा अध्यक्ष केनुका थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीले ४० वटा पोलिब्यागमा घिउ सिमी र १ सयभन्दा बढी सयपत्री फूलको बिउ रोपेका थिए ।
“पढ्दै कमाउँदै” अन्तरगतको यो कार्यक्रम उद्यमशीलता अभियानको एक हिस्सा हो, विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यावहारिक सीप प्रदान गरी आत्मनिर्भर बनाउन मद्दत गर्दछ ।
