सुचना१
newa srijana

पोखराका दिननाथ बरालसहित १० खेल पत्रकारलाई राष्ट्रिय सम्मान तथा प्रोत्साहन पुरस्कार

पोखरा । गण्डकी प्रदेशका वरिष्ठ खेल पत्रकार दिननाथ बरालसहित देशभरका १० जना खेल पत्रकारलाई युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय सम्मान तथा प्रोत्साहन पुरस्कार प्रदान गरेको छ। सोमबार काठमाडौंको सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उनीहरूलाई सम्मानपत्र, खादा र अबिरसहित नगद पुरस्कार प्रदान गरे।

अनुभवी खेल पत्रकारलाई प्रदान गरिएको ‘अनुभव प्राप्त सम्मान’मा ५० हजार रुपैयाँ र ‘प्रोत्साहन पुरस्कार’मा जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको शाखा अधिकृत प्रमिला खरेलले जानकारी दिइन्। मन्त्री चौधरीले खेलकुद क्षेत्रको प्रवर्द्धनका लागि पत्रकारहरूको भूमिकालाई सम्मान गर्न यो कार्यक्रम आयोजना गरिएको बताए। मन्त्रालयका प्रवक्ता सुवासचन्द्र शिवाकोटीले पत्रकारहरूको सकारात्मक र आलोचनात्मक लेखनको निष्पक्ष मूल्याङ्कन गरी छनोट गरिएको बताए।

आर्थिक वर्ष २०८१/८२ का लागि पत्रकार सम्मान र पुरस्कारका लागि देशभरबाट प्राप्त ३८ आवेदनमध्ये योग्य उम्मेदवारको निष्पक्ष मूल्याङ्कन गरी छनोट गरिएको थियो। छनोट समितिका संयोजक कुशराज दाहालले कुनै दबाब वा सिफारिसबिना योग्य पत्रकारको मात्र छनोट गरिएको स्पष्ट पारे।

Pokhara महोत्सव

पोखराका पत्रकार दिननाथ बराल विगत २३ वर्षदेखि खेल पत्रकारितामा सक्रिय छन्। उनी हाल रेडियो नेपाल, कारोबार दैनिक, पोखरा क्लिक र पोखरापत्रसँग आबद्ध छन्। उनले अघिल्लो समय हिमाल खबरपत्रिका, रेडियो अन्नपूर्ण, आर्थिक अभियान, फेवा टेलिभिजन र पोखरा न्यूज डटकममा समेत पत्रकारिता गरेका छन्। उनले अमेरिका, मलेसिया, भारत, भुटानसहित ८ देशको भ्रमण गरेका छन्। अमेरिकी दूतावास र शेयरकास्टको फेलोसिप रिपोर्टिङ (२०७६) मा गण्डकी प्रदेशबाट छनोट हुँदै ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका उनले सहारा खेल पत्रकारिता पुरस्कार (२०६८), जिल्ला खेलकुद विकास समिति कास्कीको उत्कृष्ट पत्रकार पुरस्कार, नेपाल पत्रकार महासंघ कास्कीको आर्थिक पत्रकारिता पुरस्कार (२०७९) लगायत थुप्रै सम्मान प्राप्त गरिसकेका छन्।

युवा तथा खेलकुद मन्त्रालयले ‘राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि, २०८१’ को आधारमा यसपटकको सम्मान वितरण गरेको हो।

यसपटक सम्मानित पत्रकारहरूको सूचीमा कोशी प्रदेशबाट मुकुन्द घिमिरे (इलाम), मधेश प्रदेशबाट सरदचन्द्र भट्टराई (बारा), बागमती प्रदेशबाट विक्रमकुमार बानिया (मकवानपुर) र श्रीलोचन राजोपाध्याय (काठमाडौं), गण्डकी प्रदेशबाट दिननाथ बराल (पोखरा) र नमिता दाहाल (तनहुँ), लुम्बिनी प्रदेशबाट स्वस्तिक श्रेष्ठ (बुटवल) र रुपा गहतराज (नेपालगन्ज), कर्णाली प्रदेशबाट दिनेशकुमार बुढा (दैलेख) र सुदूरपश्चिम प्रदेशबाट दिनेश बहादुर विष्ट (बैतडी) रहेका छन्। राजोपाध्यायलाई ‘अनुभव प्राप्त सम्मान’ प्रदान गरिएको हो भने गहतराजले दलित समुदायको तर्फबाट ‘समावेशी प्रोत्साहन पुरस्कार’ प्राप्त गरिन्।

यसैबीच, गण्डकी प्रदेशका पत्रकारहरू केशव पाठक, विजय नेपाली, दीपक परियार, विजय नेपाल, ऋषिराम जिसी, सुमन गुरुङ र रोहितराज पराजुली पनि यसअघिका विभिन्न सम्मानहरूबाट पुरस्कृत भइसकेका उल्लेख गरियो। कार्यक्रममा खेलकुदका विभिन्न १० विधामा खेलाडी, प्रशिक्षक र स्वास्थ्यकर्मीहरूलाई समेत नगदसहित सम्मान गरिएको थियो। सो अवसरमा ‘राष्ट्रिय खेलकुद नीति २०८२’ पनि सार्वजनिक गरिएको छ।

 

पुल सेन्टर
वडा नं २६