सुचना१
हेमाजा हिले महोत्सव

पोखरा–१२ को सार्वजनिक सुनुवाइः निर्माणमा सन्तुष्टि, सेवामा असन्तुष्टि

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १२ ले चालू आर्थिक वर्ष २०८१।०८२ को सार्वजनिक सुनुवाइ गरेको छ । वडा कार्यालयले प्रदान गर्ने सेवा प्रवाह र विकास निर्माणका विषयमा जानकारी दिने र सेवाग्राहीबाट सुझाव लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा वडाभित्र भएका विकास निर्माणका कामको सबैले प्रशंसा गरेका छन् । तर सेवा प्रवाहका विषयमा भने केही गुनासो नागरिकहरुले गरेका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, पूर्वाधार, युवा परिचालन र सामाजिक विकृति नियन्त्रणजस्ता विषयमा प्रश्न उठाएका थिए ।शितलादेवी युवा क्लबका पूर्व अध्यक्ष सुरज श्रेष्ठले खेलकुदका लागि टुक्रे बजेटभन्दा दीर्घकालीन योजना बनाउन आग्रह गरे ।

‘युवा लक्षित कार्यक्रम भैरहेका छन् । तर टुक्रे कार्यक्रम धेरै भए,’ उनले भने, ‘अलि देखिने गरी योजना तय गरौं । सबैलाई समेटेर उत्कृष्ट काम गर्न वडासँग मेरो आग्रह छ ।’

शितलादेवी सामुदायिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारी र पुष्पसदन एकेडेमीका प्राचार्य भीम न्यौपानेले शिक्षाको गुणस्तर बढाउन सफ्टवेयर (तालिम, संस्कार) मा लगानी बढाउन सुझाए ।

यस्तै, वडाभित्रका स्कुलबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र अभिभावकलाई सम्मान गर्न र विद्यालय वरपर सुर्तीजन्य पदार्थ बिक्रीमा कडाइ गर्न उनीहरुको आग्रह छ ।डा. कृष्णप्रसाद पौडेलले अमरसिंह माविको चौरमा हुने राजनीतिक कार्यक्रम र सेती नहरमा बढ्दो प्रदूषण नियन्त्रणबारे वडाको ध्यानाकर्षण गराए ।

नेकपा माओवादीका अध्यक्ष श्रीकान्त अधिकारीले योजनाहरुमा देखिने बेरुजुको कारण खोजे । उनले अमरसिंह मावि अगाडिको टहरा विवादबारे पनि प्रश्न उठाएका थिए ।

स्थानीय अनिता पोख्रेलले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने कार्यक्रम बनाउन वडासँग आग्रह गरेकी छिन् । उनले पार्कहरूमा बढ्दो विकृति नियन्त्रण गर्न सुझाव दिइन् ।

सहभागीहरूले जीर्ण बनेका काठका पोल विस्थापन, हस्पिटल चोकदेखि माछापोखरीसम्म फुटपाथ निर्माण र सरस्वती स्कुल चोकमा बढ्दो दुर्घटना जोखिम न्यूनीकरण गर्न पनि माग गरे ।

प्रश्न र गुनासामा जवाफ दिँदै वडाध्यक्ष सन्तोष बास्तोलाले नागरिकका सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले बेरुजुको समस्या सरकारी र बजार दररेटको भिन्नताले आएको जानकारी दिए ।

तर वडामा बेरुजुको मात्रा न्यून रहेको उनको भनाई छ । अमरसिंह स्कुलको टहरा विवाद छिटै समाधान हुने उनले सुनाए ।‘यो विषय अदालतबाट टुंगिसकेको छ । अब व्यवस्थापन समितिले छिट्टै निर्णय नगरे वडाले कानुनी रूपमा अघि बढ्छ,’ उनले भने ।

बास्तोलाले युवा क्लब र महिला समूहले ठोस योजना ल्याएमा बजेट अभाव नहुने स्पष्ट पारे । ‘हामी लगानी गर्न तयार छौं । तर त्यसले साँच्चिकै जीवनस्तर परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘तपाईंहरू योजना लिएर आउनुहोस् । उपयुक्त काममा वडाले लगानी गर्छ । पैसाको अभाव हुँदैन ।’

कार्यक्रममा धेरै सहभागीले सामुदायिक कुकुरको नियन्त्रणमा वडाको ध्यानाकर्षण गराएका थिए । जवाफमा वडाध्यक्ष बास्तोलाले ‘डग होस्टेल’को अवधारणा अघि बढाइएको बताए । ‘महानगरपालिकाले नै साउनदेखि डग होस्टल चलाउने भनेको छ ।

अब कुकुरलाई त्यहाँ लगिन्छ,’ उनले भने, ‘तर जथाभावि कुकुरलाई दिशा गराउने र दुर्गन्ध फैलाउनेलाई टोल विकास संस्थाले पनि निगरानी गर्नुस् ।’

वडामा आइटी पढ्ने विद्यार्थीलाई निःशुल्क इन्टरनेट र सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीका परिवारलाई निःशुल्क स्वास्थ्य बिमा जस्ता कार्यक्रम वडाले सञ्चालन गरेको बास्तोलको भनाई छ । उनले विकास निर्माण र सेवा प्रवाहमा सबैलाई समान व्यवहार गरिएको र कुनै पनि काम तथ्य र तथ्यांकमा आधारित भएरै हुने गरेको दाबी गरे ।

कार्यक्रममा उठेका गुनासालाई सम्बोधन गर्दै उनले आगामी दिनमा अझै प्रभावकारी सेवा दिन वडा समिति कटिबद्ध रहेको प्रतिबद्धता जनाए ।

कार्यक्रममा वडा सचिव शारदा सापकोटाले चालू वर्षमा वडाको प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।

पोखरा १२ले चालू वर्षमा कुल ३ करोड ३ लाख ५८ हजारको बजेट कार्यान्वयन गरेको छ । उनले वडा कार्यालयको सेवा प्रवाह र कर्मचारी प्रशासनसँग जोडिएका प्रश्नको जवाफ दिइन् ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिक सर्वेक्षण प्रतिवेदनले वडाको मिश्रित अवस्था देखाएको छ ।

प्रतिवेदनअनुसार अधिकांश सेवाग्राही कर्मचारीको व्यवहार र जनप्रतिनिधिको जवाफदेहिताप्रति सन्तुष्ट देखिए पनि सामुदायिक कुकुर तथा छाडा चौपाया नियन्त्रण, फोहोर व्यवस्थापन, कार्यालयमा पार्किङको अभाव, अनलाइन सेवाको ढिलासुस्ती र योजना वितरणमा सबै टोललाई समान दृष्टीले नहेरेको जस्ता गुनासा नागरिकले राखेका छन् ।

 

वडा नं २६
Sadak 1
पुल सेन्टर
Leave A Reply

Your email address will not be published.