सुचना१
हेमाजा हिले महोत्सव

पोखरामा दुईदिने चरा अवलोकन कार्यक्रम सम्पन्न

पोखरा । पोखरा पंछी समाजको आयोजनामा भएको चौथो समर बर्ड हाइक फेदिखोला गाउँपालिका–१, स्याङ्जामा असार २७ र २८ गते सम्पन्न भएको छ।

फेदिखोला गाउँपालिकाको सहकार्यमा नेपालिज अर्निथोलोजिकल युनियन, बर्ड्स नेपाल, हिमालयन ट्रेल्स ट्रेकिङ एन्ड क्लाइम्बिङ प्रालि, र नेपाल नेचर ट्रेक्स एन्ड टुर्सको साझेदारीमा सम्पन्न यस कार्यक्रमले चरा पर्यटन र प्रकृति संरक्षणमा विशेष ध्यान दिएको थियो।

पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार, कार्यक्रममा प्रकृतिमा पैदल यात्रा, चरा अवलोकन, राति उल्लुको आवाज सुन्ने, नयाँ चरा पर्यटन गन्तव्य पहिचान गर्ने, वन्यजन्तु तथा चरासम्बन्धी पर्यटन सम्भावना अध्ययन गर्ने, पथप्रदर्शकहरूलाई अफ–सिजनमा प्रोत्साहन दिने, र पर्यटन व्यवसायी तथा विद्यार्थीहरूलाई चरा चिन्ने सीप प्रदान गर्ने लक्ष्य राखिएको थियो।

कार्यक्रममा डाक्टर, इन्जिनियर, व्यवसायी, विद्यार्थी, पत्रकारसहित ६० जना चरा प्रेमीहरूको सहभागिता थियो। सहभागीहरू पोखराबाट गाडीमार्फत माछापुच्छ्रे भ्यूपोइन्ट हुँदै रामकोट गाउँ पुगेका थिए, जहाँ उनले प्राकृतिक वातावरणमा चरा अवलोकनको अनुभव लिए। फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, वडा प्रतिनिधि, तथा स्थानीय अगुवाहरूले सहभागीहरूको स्वागत गरेका थिए।

उद्घाटन सत्रमा सचिव हेमन्त ढकालले चरा विशेषज्ञहरूको परिचय गराएका थिए भने अध्यक्ष घिमिरेले कार्यक्रमको उद्देश्य प्रस्ट्याएका थिए।

नेपाल पंछीविद संघका अध्यक्ष हठन चौधरी, चराविज्ञ बद्री चौधरी, लक्ष्मण पौडेल, फोटोग्राफर गोपि श्रेष्ठ, नेत्र विशेषज्ञ डा. सचेत प्रभात श्रेष्ठ, हिराकुमारी मल्ल, कृपाकुमार गुरुङ, र दुर्गा तिमिल्सिनाले चरा अवलोकनमा सहभागीहरूलाई सहजीकरण गरेका थिए।

पहिलो दिन २६ प्रजातिका चराहरू देखिएका थिए भने दोस्रो दिन सामुदायिक वन र कृषि क्षेत्रमा गरिएको अवलोकनमा ४९ प्रजाति फेला परे। तीमध्ये नेपालमै मात्र पाइने काँडे भ्याकुर, अति संकटापन्न डंगर गिद्ध, र गृष्मकालीन आगन्तुक चराहरू समेत समावेश थिए। दुवै दिनको अवलोकनमा जम्मा ५५ प्रजातिका चराहरू भेटिएको नेपाल पंछीविद संघका अध्यक्ष चौधरीले जानकारी दिए।

सहभागीहरू स्थानीय होमस्टेमा बसेका थिए। साँझको सत्रमा हठन चौधरीले चरा पर्यटनको महत्त्व र चरा चिन्ने तरिकाबारे प्रस्तुति दिएका थिए। सहभागीहरूले नेपाली लोकसंगीत र सांस्कृतिक कार्यक्रममा रमाइलो पनि गरेका थिए।

कार्यक्रम संयोजक कृपाकुमार गुरुङका अनुसार, यस्ता कार्यक्रमले चरा पर्यटन प्रवर्द्धन, प्राकृतिक पदमार्गको विकास, र वातावरणीय सचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँछन्। समापन सत्रमा समूह छलफल, सुझाव संकलन, र मायाको चिनो आदान–प्रदान गरिएको थियो।

 

वडा नं २६
Sadak 1
पुल सेन्टर