सुचना१
newa srijana

गान्जीको सौन्दर्य पोखरामै: अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा तिब्बतीयन जीवनशैलीको झल्को

पोखरा । चीनको पश्चिम सिचुवान प्रान्तमा पर्ने गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चरको अनुपम सौन्दर्य अब पोखरामै अवलोकन गर्न पाइने भएको छ। उच्च स्थानका उपत्यका, हिउँले ढाकिएका पर्वत, फिँजिएका हरियाली मैदान, घना वनजंगल र तिब्बतीयन संस्कृति बोकेको गान्जी क्षेत्रको प्राकृतिक र सांस्कृतिक सम्पदा पोखरामा प्रदर्शन गरिएको हो।

गान्जी तिब्बतीयन अटोनोमस प्रिफेक्चर माउन्टेन टुरिजम प्रमोसन प्वाइन्ट कार्यक्रम अन्तर्गत गान्जीका आकर्षक तस्बिरहरु पोखराको रातोपहिरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा बिहीबारदेखि प्रदर्शनीमा राखिएको छ। नेपाल नेसनल पभेलियन (चाइना) को सहकार्यमा सुरु गरिएको प्रदर्शनी अबको छ महिनासम्म चल्नेछ।

प्रदर्शनीको उद्घाटन पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले गरिन्। उनले नेपाल–चीन सम्बन्धलाई सांस्कृतिक आदानप्रदानमार्फत अझ बलियो बनाउने काम यस्ता कार्यक्रमले गर्ने बताइन्।सांस्कृतिक मित्रता र आपसी समझदारीको यस्तो उदाहरणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्‍याउँछ, गुरुङले बताइन्।

गान्जी प्रिफेक्चर कमिटी अफ द कम्युनिस्ट पार्टी अफ चाइनाका सेक्रेटरी चेन बोताउले नेपालीहरुलाई गान्जीको भ्रमण गर्न निम्तो दिए।नेपाल जस्तै हिमाल, ताल, झरना भएको गान्जी तपाईंहरूको स्वागत गर्न तयार छ, उनले बताए ।

संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले संग्रहालयलाई संसारभरका हिमाली क्षेत्र र पर्वतारोहणसम्बन्धी ज्ञानको केन्द्र बनाउँदै लैजाने लक्ष्य रहेको बताइन्।हिमालको कथा पोखराबाटै संसारसम्म पुर्‍याउने हाम्रो लक्ष्य हो, उनले भनिन्।

पोखराको प्रमुख पर्यटकीय गन्तव्य मानिने यो संग्रहालय वर्षमा दुई लाखभन्दा बढीले अवलोकन गर्ने गरेका छन्। कार्यक्रममा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय समितिका सदस्य शेषकान्त शर्मा र धर्मराज पन्थीले पनि मन्तव्य व्यक्त गरेका थिए।

गान्जी र पोखराको यस सांस्कृतिक संवादले पर्यटन मात्र होइन, दुई देशको जनस्तरको सम्बन्धलाई समेत बलियो बनाउने विश्वास आयोजकको छ।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की