सुचना१
हेमाजा हिले महोत्सव

एलिसन स्पोर्ट्सको आयोजनामा काठमाडौंमा ‘दोस्रो महिला फुटसल च्याम्पियनसिप’ हुने

पोखरा । यही भाद्र १८ गते एलिसन स्पोट्र्स प्रा.लि.को आयोजनामा काठमाडौंको पेप्सिकोलामा ‘दोस्रो महिला फुटसल च्याम्पियनसिप–२०८२’ आयोजना हुने भएको छ। नेपाली महिलाहरूलाई फुटबल तथा फुटसल खेलमा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिने प्रतियोगितामा नेपालभरबाट कुनै पनि स्थानमा बसोबास गर्ने महिलाहरूले आफ्नो टिम बनाएर सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ।

लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगितामा सहभागी प्रत्येक टिमले ८ जना खेलाडी, १ जना कोच र १ जना टिम मेनेजरसहित १० जनाको टोली तयार गर्नुपर्ने सचिव रुपेश श्रेष्ठले जानकारी दिनुभयो।

सबै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन पाउन् भन्ने हेतुले १६ वर्षसम्मकाले जुनियर टिम र १६ वर्षभन्दा माथिकाले सिनियर टिममा सहभागी हुन सक्नेछन्। सिनियर टिममा सहभागिता खुला भएकाले राष्ट्रिय खेलाडी वा ‘ए’ डिभिजनमा खेलिसकेका खेलाडीहरूले पनि भाग लिन पाउने अध्यक्ष सगुन थापा मगरले बताउनुभयो।

सिनियरतर्फको विजेता टिमले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही २ हजार ५ सय नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

त्यसैगरी, जुनियरतर्फको विजेता टिमले २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीलाई जनही १ हजार ५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उपाध्यक्ष मगरले जानकारी दिनुभयो।

प्रतियोगितामा सहभागी हुन आवेदन खुला भइसकेको छ। इच्छुक टिमहरूले सिनियरतर्फ ५ हजार ५ सय रुपैयाँ र जुनियरतर्फ ३ हजार रुपैयाँ दर्ता शुल्क बुझाएर, फर्म भरी परिचयपत्र भाद्र १५ गते आइतबार साँझ ५ बजेसम्म बुझाएर टिम दर्ता गराउनु पर्नेछ। उक्त समयपछि आएका फर्मलाई टाइसिटमा समावेश नगरिने आयोजकले स्पष्ट पारेका छन्।

प्रतियोगिताको मुख्य उद्देश्य बढीभन्दा बढी नयाँ महिला खेलाडीलाई खेलमा सहभागी गराउनुका साथै राष्ट्रिय टिममा पुग्नका लागि खुड्किलो तयार पार्नु रहेको आयोजकले बताएका छन्। पहिलो महिला फुटसल च्याम्पियनसिप २०८१ मा सिनियर र जुनियर गरेर २० टिमको सहभागिता रहेकोमा यसपटक कम्तीमा ३२ टिमको सहभागिता गराउने लक्ष्य राखिएको आयोजक संस्थाकी उपाध्यक्ष एलिना मगरले जानकारी दिनुभयो।

यसपटकको टुर्नामेण्टको थिम ‘She Wins (उनी जित्छिन्)’ रहेको छ। फुटबल वा फुटसलमा रुचि राख्ने सबै महिलालाई सहभागिता जनाउन र सहयोग गर्न उपाध्यक्ष मगरले आह्वान गर्नुभएको छ।

प्रतियोगिताको अफिसियल मिडिया नेपाल न्यूज बैंक र अफिसियल लाइभ मिडिया गोलनेपाल डटकम रहेको छ। कार्यक्रमलगायत सम्पूर्ण खेलहरू गोलनेपाल डटकमबाट प्रत्यक्ष प्रशारण गरिने भएकाले देश–विदेशमा जहाँ भए पनि प्रत्यक्ष हेर्न सकिने सचिव थापाले जानकारी दिनुभयो।

 

वडा नं २६
Sadak 1
पुल सेन्टर