सुचना१
newa srijana

पोखरामा हुण्डी कारोबारमा संलग्न तीन जना पक्राउ, झण्डै ७६ लाख बराबरको मुद्रा बरामद

पोखरा । अवैध रूपमा विदेशी मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। साउन १० गते पोखरा–१७, पार्दीविरौटाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूको साथबाट झण्डै ७६ लाख रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा बरामद भएको जानकारी दिएको छ।

प्रहरी उपरीक्षक (एसपी) श्यामबाबु ओलियाका अनुसार बरामद मुद्रामा १९ हजार ६ सय अमेरिकी डलर, ३ हजार २ सय युरो र ४३ लाख ७३ हजार ७ सय नेपाली रुपैयाँ रहेको छ।

पक्राउ पर्नेमा रुपन्देही, सिद्धार्थनगर–१३ का ४५ वर्षीय महमुद्दिन एम अहमद, झापा दमक–४ का ५२ वर्षीय राजकुमार बुढाथोकी र पोखरा–१९ का ३७ वर्षीय खेमराज पौडेल छन्।

अनुसन्धान अनुसार बुढाथोकी ‘हिलारी मनी चेन्जर’ र पौडेल ‘सगरमाथा मनी चेन्जर’का सञ्चालक हुन्। उनीहरू लामो समयदेखि मनी चेन्जरको आडमा गैरकानुनी रूपमा रकम संकलन गरी विदेशी मुद्रामा सटही तथा विदेश पठाउने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ।

उनीहरूलाई राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ अनुसार इजाजतबिना विदेशी मुद्रा कारोबार गरेको कसुरमा मुद्दा दर्ता गरी म्याद थप गर्दै अनुसन्धान अघि बढाइएको एसपी ओलियाले जानकारी दिए।

जग्गा विवादका कारण श्रीमतीको हत्या, एक जना पक्राउ

यही क्रममा कास्की प्रहरीले श्रीमतीको हत्या अभियोगमा पोखरा–२७, रिठ्ठेपानीका जङ्गे सार्कीलाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार साउन ६ गते घरायसी विवाद तथा जग्गा बिक्रीको विषयलाई लिएर सार्कीले श्रीमती जम्मुना नेपालीको हत्या गरेका थिए। साउन ८ गते स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनापछि अनुसन्धान सुरु गरिएको र कर्तव्य ज्यान मुद्दा दर्ता गरी सार्कीमाथि थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

 

Sadak 1
पुल सेन्टर