पोखरा । करिब २५० वर्ष पुरानो नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा तायाः मचा नृत्यलाई नयाँ पुस्तासम्म जोगाउँदै लैजान कास्की जिल्लास्तरीय २६औं तायाः मचा नृत्य प्रतियोगिता शिशुवामा आयोजना हुने भएको छ।
नेवाः खल कास्कीको आव्हानमा शिशुवा नेवाः खलको आयोजनामा हुने प्रतियोगिता आगामी श्रावण ३१ गते, श्रीकृष्ण जन्माष्टमीको दिन पोखरा–३०, शिशुवा बजारमा हुनेछ। कार्यक्रमबारे आयोजकहरूले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्।
‘कला संस्कृतिको संरक्षण, भावी पुस्तालाई हस्तान्तरण’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रतियोगितामा कास्की जिल्लाभरिका ३५ वटा टिमहरूको सहभागिता रहने कार्यक्रम संयोजक अर्जून कुमार ताम्राकारले जानकारी दिए। कार्यक्रम बिहान ८ बजे उद्घाटन भई ९ बजेबाट प्रतिस्पर्धा सुरु हुने जनाइएको छ।
तायाः मचा नृत्य नेवार समुदायको एक मौलिक सांस्कृतिक चिनारी हो, जुन प्रतियोगितात्मक रूपमा देशभर अन्यत्र नभई केवल कास्की जिल्लामै मनाइँदै आएको नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले बताए। उनका अनुसार कास्कीका विभिन्न कचाः खल र तायाः मचा समितिहरूको सहभागिता रहने यो प्रतियोगिता यसपटक अझ व्यवस्थित र मर्यादित बनाइनेछ।
शिशुवा नेवाः खलका संयोजक कृष्ण कुमार कतिलाले २५० वर्ष पुरानो यो सांस्कृतिक परम्परालाई आधुनिक पुस्तासँग जोड्दै तायाः मचालाई सांस्कृतिक महोत्सवको रूपमा विस्तार गर्ने प्रयास भइरहेको बताए। उनले गाईजात्रा पर्वलाई नेवार समुदायमा मात्र सीमित नराखी सबै जात–धर्म, भाषा र संस्कृतिको साझा पर्वका रूपमा फैलाउनुपर्ने धारणा राखे।
प्रतियोगितालाई सफल बनाउन पोखरा–३, तेर्सापट्टी निवासी रामकाजी श्रेष्ठ, रविन्द्र श्रेष्ठ, शंकर श्रेष्ठ र कविन्द्र श्रेष्ठको परिवारले आफ्ना दिवंगत आमाबुबा वालकुमारी श्रेष्ठ र हेमप्रसाद श्रेष्ठको स्मृतिमा पुरस्कार तथा प्रोत्साहन राशिको व्यवस्था गर्ने भएका छन्।
करीब ३३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि पोखरा महानगरपालिका, वडा कार्यालयहरू, प्रदेश सरकार, संघसंस्था, उद्योगी व्यवसायी र अन्य सहयोगदाताहरूबाट आर्थिक स्रोत जुटाइने आयोजकको भनाइ छ।
सञ्चार क्षेत्रको सहयोगलाई महत्त्वपूर्ण मान्दै आयोजकहरूले प्रचारप्रसारमा सहकार्यका लागि पत्रकार तथा मिडियाकर्मीहरूलाई विशेष अपिल गरेका छन्। कार्यक्रम शिशुवा मिसापुच, शिशुवा ल्याम पुच, शिशुवा नेवाः खल र नेवाः खल कास्कीको संयुक्त कार्यसम्पादन समितिको अग्रसरतामा सम्पन्न हुने जानकारी दिइएको छ।
