सुचना१
हेमाजा हिले महोत्सव

राइड सेयरिङ, मदिरा र गाँजा नीतिमा गण्डकी सरकार सक्रिय : मुख्यमन्त्री पाण्डे

राइड सेयरिङ सुरु गर्नेदेखि गाँजा खेती वैध बनाउनेसम्म, गण्डकी सरकार विकास र लगानीमैत्री नीतिमा अग्रसर

पोखरा । गण्डकी प्रदेश सरकारले यातायात, कृषि र उत्पादन क्षेत्रमा नीति सुधारमार्फत विकासको नयाँ बाटो खोल्ने तयारी गरेको छ। मुख्यमन्त्री सुदनराज पाण्डेले शहरी क्षेत्रमा राइड सेयरिङ सेवा सुरु गर्ने, स्थानीय रूपमा उत्पादित मदिरालाई कानुनी मान्यता दिने, र औषधीय प्रयोजनका लागि गाँजा खेती वैधानिक बनाउने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो।

गाउँघरमा हाल बनेको स्थानीय मदिरालाई यही बर्खे अधिवेशनबाट कानुनी मान्यता दिने तयारी भइरहेको उहाँले बताउनुभयो। यस्ता उत्पादनहरूको दुरुपयोग भएमा त्यसले ब्याकफायर गर्न सक्ने भएकाले हाल यसबारे गम्भीर छलफल भइरहेको उहाँको भनाई थियो। गाँजा खेतीलाई कानुनी मान्यता दिने विषयमा समेत सरकार गम्भीर रहेको बताउँदै उहाँले शहरी क्षेत्रमा राइड सेयरिङ सेवा यही महिना कार्यान्वयनमा ल्याउने तयारी गरिएको जानकारी दिनुभयो। साथै, उक्त राइड सेयरिङ एपमा उद्योगी व्यवसायीहरूलाई लगानी गर्न आग्रह समेत गर्नुभयो।

मुख्यमन्त्री पाण्डेले, “म केही गर्न सक्छु” भन्ने आत्मविश्वास प्रत्येक नेपालीमा हुनुपर्नेमा जोड दिनुभयो। विदेशमा बस्ने नेपालीहरूलाई स्वदेशमा रहेको आफ्ना परिवार तथा साथीभाइलाई भ्रष्टाचारमा नलगाउन अनुरोध गर्दै, विदेशमा आर्जित ज्ञान, सीप र पुँजीलाई स्वदेशमा लगानी गर्न सुझाव दिनुभयो। मिसइन्फरमेसनका कारण मुलुकमा केही भइरहेको भए पनि केही नभएको जस्तो नकारात्मक भाष्य सिर्जना गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै, उहाँले त्यसविरुद्ध सजग हुन आह्वान गर्नुभयो।

प्रदेश सरकारले यसै वर्षभित्र पर्यटन र कृषि केन्द्रित लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ। मुख्यमन्त्रीले उक्त सम्मेलनले रोजगारी सिर्जना, उत्पादन वृद्धि र समृद्ध गण्डकी निर्माणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (FINYE) को गण्डकी प्रदेश समिति गठन कार्यक्रममा बोल्दै उहाँले नीति सुधारसँगै निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकता दिने बताउनुभयो।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालसम्म नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत १० अर्ब रुपैयाँ लगानी भइसकेको जानकारी दिँदै आवश्यक क्षेत्रमा थप लगानी गर्न तयारी रहेको बताउनुभयो। उनका अनुसार प्रदेशहरूबीचको आवागमन सहज बनाउन सकिए, नेपालमा पर्यटकको बसाइ अवधि २० दिनसम्म विस्तार गर्न सकिने सम्भावना छ।

वैदेशिक लगानीमा वृद्धि भइरहेको उल्लेख गर्दै, हालसम्म ६ हजार ४ सय ६० परियोजनामा कुल ६ अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ। लगानीमैत्री कानुनी संरचना बनाउन सरकार प्रतिबद्ध रहेको बताउँदै, उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले यसले व्यवसायिक वातावरण सुधार्न मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो।

नेपालमा लगानी वातावरण सुदृढ पार्न र विश्वभर छरिएका नेपाली उद्यमीलाई जोड्न FINYE को पहलले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ। अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, हङकङ, चीन, मकाउ र मध्यपूर्वमा FINYE का शाखा सक्रिय छन्। कार्यक्रम संयोजक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो।

वडा नं २६
Sadak 1
पुल सेन्टर