पोखरा । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यवस्थापनमा उत्कृष्टता देखाएको भन्दै अन्नपुर्ण केवलकार लिमिटेडलाई श्रम कार्यालय पोखराले प्रशंसा पत्रसहित सम्मान गरेको छ।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, श्रम तथा रोजगार कार्यालय पोखराले हालै आयोजित कार्यक्रममा अन्नपुर्ण केवलकार लिमिटेडलाई प्रशंसा पत्र प्रदान गरेको हो।
गण्डकी प्रदेशका जिल्लाहरूमा सञ्चालनमा रहेका प्रतिष्ठान तथा उद्योगहरूको आर्थिक वर्ष २०८१/८२ मा गरिएको अनुगमन तथा निरीक्षणका क्रममा, श्रम ऐन २०७४ र श्रम नियमावली २०७५ बमोजिम केवलकारले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य व्यवस्थापनमा उल्लेखनीय कार्यान्वयन गरेको कार्यालयले जनाएको छ।
कार्यक्रममा श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकाल, कारखाना निरीक्षक इश्वरमणि भण्डारीलगायतको टोलीले अन्नपुर्ण केवलकारका महाप्रबन्धक (जनरल म्यानेजर) दिनेश पौडेललाई प्रशंसा पत्र हस्तान्तरण गरेका थिए।
यसअघि पनि देशभरका प्रतिष्ठानहरूलाई श्रम सुरक्षा प्रवद्र्धनका लागि श्रम कार्यालयले प्रशंसा पत्र प्रदान गर्दै आएको छ। तर यो पटक गण्डकी प्रदेशभित्र उत्कृष्ट मानिएको प्रतिष्ठानको रुपमा अन्नपुर्ण केवलकारलाई विशेष रूपमा सम्मान गरिएको हो।
पोखराको सेदीबगरदेखि सराङकोटसम्म करिब २ किलोमिटर २०० मिटर दुरीमा निर्माण गरिएको अन्नपुर्ण केवलकारले २०७९ सालदेखि व्यवसायिक सेवा सञ्चालनमा ल्याएको हो। उक्त दुरी केवल १० मिनेटमै पार गर्न सकिने यो सेवाबाट फेवाताल, ताल बाराही मन्दिर र समग्र पोखरा उपत्यकाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ। सराङकोटबाट सूर्योदय र सूर्यास्तको दृश्य हेर्नका लागि समेत केवलकार प्रमुख माध्यम बनेको छ।
“केवलकारमार्फत् छोटो समयमै हजारौं यात्रुलाई दृश्यावलोकन तथा मनोरञ्जनको अनुभव दिन सफल भएका छौँ,” महाप्रबन्धक पौडेलले बताए। उनका अनुसार, ५१ फिट अग्लो गणेशको मूर्ति दर्शनका लागि प्रत्येक मंगलबार नेपाली नागरिकलाई २० प्रतिशत छुट दिइँदै आएको छ। यस्तै, सराङकोट धाममा प्रत्येक सोमबार आयोजना हुने महाआरतीमा सहभागी हुन चाहने यात्रुहरूका लागि साँझ ४ बजेबाट केवलकार टिकट दर रु २५० कायम गरिएको छ।
