newa srijana

पोखरा–२६ को पैते फेदीमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण

पोखरा । पोखरा महानगरपालिका वडा नं. २६ को खरानेफाँटस्थित पैते फेदीमा स्थानीयको जनसहभागिता र वडा कार्यालयको आर्थिक सहयोगमा बहुउद्देश्यीय सामुदायिक भवन निर्माण गरिएको छ।

करिब १४ लाख २० हजार रुपैयाँ लागतमा सम्पन्न भवनले तालिम, योग केन्द्र, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रसहित विभिन्न स्थानीय कार्यक्रम सञ्चालनमा सहयोग गर्ने अपेक्षा गरिएको छ।

भवन निर्माणमा वडा कार्यालय पोखरा–२६ बाट १२ लाख रुपैयाँ र स्थानिय खरानेफाँट टोल विकास संस्था, त्रिवेणी टोल विकास संस्था, नमुना कृषक आमा समूह र तालवाराही आमा समूहबाट दुई लाख २० हजार रुपैयाँ आर्थिक सहयोग जुटाइएको हो।

Mountain run pokhara click
सिटीजन फनिच्रर

भवन उद्घाटन कार्यक्रममा वडाध्यक्ष नरेन्द्र थापाले स्रोत र साधन सीमित हुँदा सबै योजना समेट्न कठिन हुने भए पनि “नमुना वडा” बनाउने उद्देश्यले आफु निरन्तर लागिपरेको बताउँदै स्थानीयको साथ र सहयोग अझ आवश्यक रहेको धारणा राखे। उनले जनताको खुसी नै जनप्रतिनिधिको सन्तुष्टि भएको उल्लेख गर्दै बाँकी दुई वर्षको कार्यकालमा सबै योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

भवन निर्माण समितिकी अध्यक्ष अमृता बरालको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य तिर्थबहादुर राजभाट, समितिका सल्लाहकार हरिप्रसाद अधिकारी लगायतले “जहाँ आवश्यकता, त्यहीँ विकास” भन्ने अवधारणामा आधारित योजनामा जनसहभागिता हुने हो भने अपेक्षाभन्दा बढी विकास सम्भव हुने सुझाव दिए।

कार्यक्रम सञ्चालन भवन निर्माण समितिका सचिव छविलाल लामिछानेले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष शान्ति पौडेलले दिएकी थिइन्। निर्माण खर्च र आवश्यकता सम्बन्धी विवरण नमुना कृषक आमा समूहकी अध्यक्ष विष्णु ढकालले प्रस्तुत गरेकी थिइन्।

Rabin photo