पोखरा । अन्नपूर्ण गाउँपालिकाका विभिन्न विद्यालयमा नेकपा माओवादी केन्द्र, अन्नपूर्ण गाउँपालिका कमिटी र बायोमी इन्टरनेसनलको सहकार्यमा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।
बायोमी इन्टरनेसनलका कन्ट्री म्यानेजर तथा नेकपा माओवादी केन्द्र, वडा नं. १ का उपाध्यक्ष राजेन्द्र अधिकारीको पहलमा परशु आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय र गया जोसेफ बालविकास स्कूलमा सामग्री हस्तान्तरण गरिएको हो। उनले अन्नपूर्ण गाउँपालिकाभरका विद्यालयहरूमा यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै, विगत तीन वर्षदेखि गाउँपालिकामा सक्रिय रहँदै आएको आफ्नो संस्थाले शिक्षा र खेलकुद क्षेत्रमा अझ व्यापक योगदान दिने योजना रहेको बताए।
परशु आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पूर्व गाविस अध्यक्ष केदारनाथ अधिकारीले गाउँमा गुणस्तरीय शिक्षा अझै चुनौतीपूर्ण रहेको भन्दै यस किसिमको सहयोगले विद्यालयको वातावरणमा सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरे। कार्यक्रम सञ्चालन प्रधानाध्यापक हरिप्रसाद भूगाईले गरे।
अन्नपूर्ण–२, ठूलोचौर प्याउदीस्थित सरस्वती आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण गर्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सालिकराम दाहालले सामुदायिक सहभागिताबिना शिक्षा सुधार सम्भव नभएको बताए। स्थानीय जनप्रतिनिधि भानु दाहालले गाउँको भविष्य शिक्षामा निर्भर हुने भन्दै यस्ता सहयोगलाई निरन्तरता दिन आग्रह गरे। यस कार्यक्रम सञ्चालन प्रधानाध्यापक पुष्पा भण्डारी दाहालले गरिन्।
अन्नपूर्ण–१ परिवार टोलस्थित गया जोसेफ बालविकास स्कूलमा पनि सामग्री वितरण भयो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष सूर्य परिवारले संस्थागत र सामुदायिक सहकार्यकै कारण विद्यालयहरूमा आवश्यक सामग्री पुगिरहेको बताए र यसले बालबालिकाको सिकाइमा उत्साह बढाउने धारणा राखे।
कार्यक्रमहरूमा स्थानीय समाजसेवी खिमप्रसाद अधिकारी, कृष्णबहादुर कुँवर ‘ए’, कृष्णबहादुर कुँवर ‘बी’, जीवनबहादुर कुँवर, पूर्व प्रधानाध्यापक कलाधर भूगाई, जनप्रतिनिधि नरपति दाहाल, चुडामणि अधिकारी, राजु दाहाल, बायोमी इन्टरनेसनलकी एचआर म्यानेजर भावना थापा, समाजसेवी मनहरि दाहाललगायतको उपस्थिति रहेको थियो।
