newa srijana

पोखरामा सुन–चाँदीको अवैध कारोबारमा संलग्न ११ भारतीय नागरिक पक्राउ, ११ करोड बराबरको सुनचाँदी बरामद

पोखरा । कास्की प्रहरीले पोखरामा लामो समयदेखि चल्दै आएको अवैध सुनचाँदी कारोबारमा संलग्न भारतीय गिरोहलाई पक्राउ गरेको छ। भारतको महाराष्ट्र, कलकत्ता र पश्चिम बंगालका स्थायी बासिन्दा भई पोखरामा बसोबास गर्दै आएका ११ जनालाई पक्राउ गरी उनीहरूको साथबाट ठूलो मात्रामा सुनचाँदी बरामद गरेको छ।

पोखरा महानगरपालिका–२, ३, ४ र ९ नं. वडामा अवैध सुनचाँदी कारोबार भइरहेको सूचनाका आधारमा शुक्रबार अपराह्न गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयहरूको संयुक्त टोली ‘अपरेसन यलो मेटल’ सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलीयाले शनिबार पत्रकार सम्मेलनमा जानकारी दिए।

पक्राउ पर्नेमा राजेन्द्र रामचन्द्र जगताप, मनिक लाल आदक, सन्दीप ढाव, सोमनाथ पाल, दिपक सामन्त, गोविन्दा दिण्डा, असित वर, तापस सामन्त, उज्वल भोमिक, सुनिता पवार र प्रोभास माझी रहेका छन्। यस्तै फरार रहेको सन्जय ढावको खोजी भइरहेको छ।

पक्राउ परेकाहरूको साथबाट ५ सय ४९ तोला ४० लाल (करीब ६ किलो ४ सय ग्राम) सुन, ४ सय ४४ तोला ७३ लाल (करीब ५ किलो ३ सय ग्राम) चाँदी र नगद ५ लाख १४ हजार ६ सय ६५ रुपैयाँ बरामद गरिएको छ। एसपी ओलीयाका अनुसार बरामद सुनको बजार मूल्य करिब ११ करोड १ लाख ४ हजार र चाँदीको मूल्य १० लाख ३९ हजार रुपैयाँ रहेको छ।

प्रहरी अनुसन्धान अनुसार, पक्राउ परेकाहरूले भारतबाट सुन ल्याएर पोखरामा प्रशोधन गरी बेच्ने गरेको खुल्न आएको छ। उनीहरू पेशाले कालिगढ हुन् भने पनि व्यवसाय र कालिगढ दुवैमा संलग्न रहेको प्रहरीको दावी छ।

पोखरा–२ मोहरिया टोलमा १६ वर्षदेखि कालिगढको काम गर्दै आएका राजेन्द्र जगतापको साथबाट ११ तोला २० दशमलब ६ लाल सुन, २ सय ९६ तोला ३३ लाल चाँदी र १ लाख ६० हजार ५ सय रुपैयाँ नगद बरामद भएको छ।

World link net

मनिक लाल आदकको साथबाट १३ तोला १७ लाल सुन र १० तोला ५५ लाल चाँदी, विन्ध्यवासिनीमा १५ वर्षदेखि कालिगढ गर्दै आएका सन्दीप ढावको साथबाट ३ तोला ८ लाल सुन बरामद भएको छ।

मोहरिया टोलमा १६ वर्षदेखि सुनचाँदी डिजाइन गर्दै आएका सोमनाथ पालको साथबाट १२ तोला १२ दशमलब ७ लाल सुन र ९ तोला ५९ दशमलब ४ लाल चाँदी, पोखराको तेर्सापट्टीमा २० वर्षदेखि काम गर्दै आएका दिपक सामन्तको साथबाट ३८ तोला ५ लाल सुन र ३० तोला ११ लाल चाँदी बरामद भएको छ।

पोखरा–३ मा २८ वर्षदेखि सुनचाँदीको काम गर्दै आएका गोविन्द दिण्डाको साथबाट २ सय १० तोला ८९ लाल सुन, चिप्लेढुङ्गामा २० वर्षदेखि बस्दै आएका असित वरको साथबाट ८६ तोला ८७ दशमलब १ लाल सुन र ३१ दशमलब ५ लाल चाँदी बरामद गरिएको छ।

मोहरिया टोलमा २४ वर्षदेखि बस्दै आएका तापस सामन्तको साथबाट २४ तोला १५ लाल सुन, भैरवटोलमा १२ वर्षदेखि कालिगढ गर्दै आएका उज्वल भोमिकको साथबाट ५ तोला ४६ दशमलब ९ लाल सुन, मोहरिया टोलमा काम गर्दै आएका सुनिता पवारको साथबाट २ तोला ५० लाल सुन र ९३ तोला ६१ लाल चाँदी, प्रोभास माझीको साथबाट ८८ तोला ३१ लाल सुन र १ लाख ८५ हजार रुपैयाँ नगद बरामद भएको छ।

फरार सन्जय ढावको काम गर्ने स्थानबाट १३ तोला ५८ लाल सुन, ४ तोला २३ लाल चाँदी र १ लाख ६९ हजार १ सय ५५ रुपैयाँ नगद बरामद गरिएको छ।

पक्राउ परेकाहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि बरामद सुनचाँदीसहित राजस्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी भइरहेको कास्की प्रहरीले जनाएको छ।

 

 

सिटीजन फनिच्रर