सुचना१
हेमाजा हिले महोत्सव

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकार राम गुरुङ र कैलाशबाबु श्रेष्ठ सम्मानित

पोखरा । कास्कीका फोटो पत्रकार राम गुरुङ र गोरखाका पत्रकार कैलाशबाबु श्रेष्ठ (सुशिल) यस वर्षको ‘कञ्चन पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानित भएका छन्।

पोखराका व्यवसायी बिमलमान गुभाजू र उनको परिवारले आमा स्व. नेत्रकुमारी गुभाजू तथा पिता स्व. वेदमान गुभाजूको स्मृतिमा स्थापना गरेको यो पुरस्कार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले मंगलबार आयोजित समारोहमा प्रदान गरेको हो। पुरस्कृत पत्रकारलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पुरस्कारदाता गुभाजू परिवार, फोनिज गण्डकी अध्यक्ष खीमा गुरुङलगायतले दोसल्ला, सम्मानपत्र र नगद २५ हजार रुपैयाँसहित सम्मान गरे।

फोनिजले आफ्नो स्थापना दिवसको अवसरमा पत्रकारितामा सक्रिय रही आदिवासी जनजाति समुदायका मुद्दा उजागर गर्ने दुई पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ। २६औं स्थापना दिवसको अवसरमा यसपटक फोटो पत्रकार गुरुङ र पत्रकार श्रेष्ठलाई सम्मान गरिएको हो।

समारोहमा प्रमुख धनराज आचार्यले २६ वर्षदेखि फोनिजले आदिवासी जनजाति पत्रकारलाई प्रेरित गर्दै आएको उल्लेख गर्दै, पत्रकारिता क्षेत्रमा पारदर्शिता, सत्यनिष्ठा र निरन्तर मेहनत आवश्यक हुने धारणा व्यक्त गरे। उनले पुरस्कार प्राप्ति कुनै एक दिनको कामको फल नभई दीर्घ परिश्रमको परिणाम हुने बताए।

सम्मानित पत्रकार श्रेष्ठले पत्रकारिता पेशामा विगतका अनुभव नयाँ पुस्तालाई कथा जस्तो लाग्न सक्ने बताए भने फोटो पत्रकार गुरुङले पुरस्कारले निरन्तरता दिन प्रोत्साहन मिल्ने धारणा राखे।

गण्डकी प्रदेशकी प्रेस रजिष्ट्रार बिमला भण्डारीले पत्रकारिता निष्पक्ष र पारदर्शी ढंगले गर्नुपर्नेमा जोड दिइन्। उनले संविधानको मर्मअनुसार धेरै काम अब प्रदेशमै सम्पन्न गर्न सकिने बताइन् र फोनिजभित्रको एकताबाट सबैले सिक्नुपर्ने धारणा राखिन्।

समारोहमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा महानगरपालिका वडा नं. २५ का अध्यक्ष तथा प्रवक्ता मोतीलाल तिमिल्सिना, नेपाल आदिवासी जनजाति महासंघ गण्डकी प्रदेश परिषद्का उपाध्यक्ष खीम छन्त्याललगायतले आदिवासी जनजातिको मुद्दा उजागर गर्न फोनिजमा आवद्ध पत्रकारको भूमिकालाई महत्वपूर्ण भने। पुरस्कारदाता गुभाजू र प्रेस रजिष्ट्रार भण्डारीलाई पनि दोसल्लाले सम्मान गरिएको थियो।

कार्यक्रम फोनिज गण्डकी अध्यक्ष खीमा गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो। इन्चार्ज तथा छनोट समितिका सदस्य रुद्र श्रीष मगरले पुरस्कृत व्यक्तित्वको परिचय दिएका थिए। स्वागत मन्तव्य उपाध्यक्ष धनबहादुर गुरुङ (सुमन)ले प्रस्तुत गरेका थिए भने सञ्चालन महासचिव सुरज थापा मगरले गरेका थिए।

२०७७ सालमा स्थापना भएको कञ्चन पत्रकारिता पुरस्कारबाट यसअघि रुद्र हितान मगर, राजेशचन्द्र राजभण्डारी, शान्ति गुरुङ, केबी रानामगर, उदयबहादुर अमात्य, आश गुरुङ, हुमबहादुर गुरुङ, सुन्दरकुमार थकाली, दीपेन्द्र श्रेष्ठ र कमला राना सम्मानित भइसकेका छन्।

वडा नं २६
Sadak 1
पुल सेन्टर