पोखरा। पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको युङजिन विश्वविद्यालयबीच प्राविधिक शिक्षामा छात्रवृत्ति आदानप्रदान तथा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। यो सम्झौता पारस्परिक लाभ, समानता, पारदर्शिता र साझा विकासको आधारमा तयार गरिएको हो।
समझदारी अनुसार, पोखरा क्षेत्रको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता बढाउन प्राज्ञिक, सांस्कृतिक र प्राविधिक सहयोग प्रवर्द्धन गरिनेछ। साथै, शिक्षा, पर्यटन र प्रविधिको क्षेत्रमा मानव संसाधन तथा सूचना आदानप्रदान, अनुकूल शैक्षिक कार्यक्रम, भ्रमण तथा भर्चुअल शिक्षा साझेदारीसमेत गरिने योजना छ। सहरी विकास, पर्यटन, दिगो अभ्यास, संयुक्त अनुसन्धान तथा नवप्रवर्तन परियोजनामा पनि सहकार्य हुने बताइएको छ।
यस सहकार्यमार्फत पोखराबाट कोरिया जाने विद्यार्थीहरूको अध्ययन, सामाजिक सुरक्षा तथा न्यूनतम रोजगारीका अवसरमा सहज पहुँच हुने अपेक्षा गरिएको छ। महानगरले छात्रवृत्ति तथा उच्च शिक्षा अवसरमा पहुँच बढाउन आवश्यक सहजीकरण गर्ने तयारी गरेको छ।
युङजिन विश्वविद्यालयले विशेषगरी प्राविधिक शिक्षा, मानव संसाधन विकास र पारस्परिक लाभका विषयमा पोखरा महानगरसँग नजिकबाट काम गर्ने योजनासहित सहकार्यको प्रतिबद्धता जनाएको छ।
यसअघि पनि कोरियन सरकार र विभिन्न एजेन्सीहरूको सहयोगमा पोखरामा थुप्रै परियोजना सञ्चालनमा रहेका छन्।
