पोखरा । पश्चिमाञ्चल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले करिब ६ वर्षपछि हुन लागेको बहुप्रतिक्षित ‘भेक्टर ३.०’ प्राविधिक महोत्सवका लागि १३ सदस्यीय आयोजना समिति गठन गरेको छ। लामो समयको अन्तराल र विभिन्न चुनौतीपछि अब महोत्सवको तयारी औपचारिक रूपमा सुरु भएको छ।
जेनिश स्वारको नेतृत्वमा बनेको समितिमा क्याम्पसका विभिन्न विभाग र क्लबका प्रतिनिधिहरू रहेका छन्। प्राविधिक ज्ञान, व्यवस्थापकीय सीप र विद्यार्थी गतिविधिमा अनुभव भएका सदस्यहरूले यसपटक महोत्सवलाई सफल बनाउन एकजुट भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
बिजनेस को-ओर्डिनेटर बिजय भण्डारीले भने, ‘भेक्टर’ पश्चिमाञ्चल क्याम्पसको पहिचान बनेको प्रमुख प्राविधिक महोत्सव हो। यसमा देशभरका विश्वविद्यालय, कलेज र प्राविधिक–इन्जिनियरिङ क्षेत्रका विद्यार्थी सहभागी हुने गर्छन्। महोत्सवमा विभिन्न प्रतियोगिता, प्राविधिक प्रदर्शनी, कार्यशाला र सेमिनार आयोजना गरिन्छ। आयोजकहरूले यस संस्करणलाई अझ भव्य र प्रभावकारी बनाउन विशेष तयारी भइरहेको बताए।
स्ववियुका अनुसार, विगतमा महोत्सव हुन नसक्नुमा विद्यार्थी युनियनको अनुपस्थिति र आन्तरिक समस्या मुख्य कारण बनेका थिए। तर यसपटक यी चुनौती दोहोर्याउने छैनन् र तयारी उच्च स्तरमा राखिएको छ।
