पोखरा । अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष ल्याफ्टेनेन्ट (अ.प्रा.) कुसाङ गुरुङले दोस्रो पर्वतीय दौड प्रतियोगिता २०८२ को खुलातर्फको प्रथम पुरस्कार प्रायोजन गर्नु भएको छ । पर्वत जिल्ला खाल्टेमा जन्मनु भएका गुरुङले प्रथम पुरस्कार ५० हजार रुपैयाँ पोखरा क्लिकलाई उपलब्ध गराउने सम्झौता शुक्रबार एक समारोहका बीच सम्पन्न भएको हो ।
उक्त सम्झौता सहारा क्लबका पूर्व अध्यक्ष विक्रम थकाली र प्रतियोगिताका संयोजक दीननाथ बराल बीच आदानप्रदान गरिएको छ । बेलायतमा रहेर पनि जन्मभूमि र खेल पर्यटन प्रवद्र्धनमा निरन्तर सक्रिय गुरुङले प्रतियोगिताको सफलताको शुभकामना दिँदै प्रतियोगितालाई दिगो रूपमा आयोजना गर्न सुझाव दिनुभयो । “कामको सिलसिलामा विदेशमा भए पनि जन्मभूमि र खेल पर्यटनको विकासमा योगदान दिन पाउँदा खुसी लागेको छ,” गुरुङको भनाइ थियो ।
पूर्व अध्यक्ष थकालीले गुरुङको सहयोगलाई ‘प्रशंसनीय र प्रेरणादायी’ भन्दै खेलकुदमार्फत् अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम उच्च राख्न गुरुङको योगदान अविस्मरणीय रहेको बताउनु भयो । प्रतियोगिताका संयोजक बरालले विदेशबाटै पहिलो पटक प्रथम पुरस्कार प्रायोजन भएकाले थप प्रोत्साहन मिलेको बताउनु भयो । उहाँले अघिल्लो वर्षको तुलनामा पुरस्कार राशिमा दोब्बर वृद्धि भएको र बाँकी पुरस्कार प्रायोजनका लागि विभिन्न संघ–संस्थालाई आह्वान गरेको पनि बताउनु हुन्छ । सम्झौता हस्तान्तरण कार्यक्रममा सहारा क्लबका अध्यक्ष केशवराज बराल, पोखराका अग्रज फोटो पत्रकार सुर्दशन रञ्जितकोसमेत सहभागिता रहेको थियो ।
लेफ्टेनेन्ट कुसाङ गुरुङ मलेसियाको माउन्ट किनाबालु अन्तर्राष्ट्रिय क्लाइमाथन तीन पटक लगातार जित्ने कीर्तिमानका साथै एभरेष्ट म्याराथनलगायत थुप्रै प्रतिष्ठित दौडमा नेपालको नाम उजागर गर्न सफल हुनुभएको थियो । पिता दिलबहादुर गुरुङ र माता धनसिरी गुरुङको कोखबाट पहिलो सन्तानका रूपमा जन्मिनु भएको कुसाङ कुमार गुरुङ प्रारम्भिक बाल्यकालदेखि नै भद्र, शालीन र आज्ञाकारी स्वभावका हुनुहुन्थ्यो । उहाँले प्रारम्भिक शिक्षा जनज्योति निम्न माध्यमिक विद्यालयबाट सुरु गरी माध्यामिक तह त्रिशहीद माध्यमिक विद्यालय, पञ्चमूल, स्याङ्जाबाट पूरा गर्नुभएको हो । सन १९८३ मा बेलायती सेनामा भर्ती भई टीडीबीजीको आधारभूत तालिम सकेपछि २÷२ गोर्खा राइफल्समा नियुक्त हुनु भएको गुरुङले सन् १९८९ मा उत्कृष्ट एनसीओको रूपमा “प्यारिस ट्रफी” प्राप्त गर्नुभयो । सन १९९४ मा दोस्रो र छैटौं गोर्खा राइफल्सको समिश्रण भएपछि उहाँ पहिलो रोयल गोर्खा राइफल्समा परिणत हुनुभयो । प्रशिक्षकका रूपमा उत्कृष्ट योगदानका लागि १९९५ र १९९६ मा लगातार दुई वर्ष “कमाण्डर ट्रफी” बाट विभूषित हुनुभयो । फकल्यान्ड आइल्यान्डमा तैनाथ हुँदा उत्कृष्ट कार्यका लागि उहाँलाई “कमाण्डर फकल्यान्ड आइल्यान्ड कमेन्डेसन” बाट उहाँको कार्यको उच्च प्रशंसा गरिएको थियो ।
सेनाको आदेशपालन र नेतृत्व क्षमताका कारण पल्टनका आरएसएम हुँदा नै २००२ मा महारानी एलिजावेथ द्वितीयबाट लेफ्टेनेन्ट पदमा पदोन्नति प्राप्त गर्नु भएको उहाँले २४ वर्षको अनुकरणीय सेवा पूरा गरी अवकास प्राप्त गर्नु भएको हो । सन् १९९१–१९९३ मलेसियाको “कोटा किनाबालु धावन प्रतियोगिता” लगातार तीन वर्ष जित्ने कीर्तिमान (गिनिज वल्र्ड रेकर्ड) कायम गर्नुभएका गुरुङ ब्रिटिस फोर्सेस हङकङ क्रस कन्ट्री १० पटक भन्दा बढी विजेता हुनुभएको थियो । उहाँले ब्रिटिस फोर्सेस रोड रेस विजेता, ब्रिटिस आर्मी क्रस कन्ट्री समूह स्वर्ण पदक, ब्रिटिस आर्मी एथलेटिक समूह स्वर्ण पदक, हङकङ “फोर पिक रेस” कीर्तिमानी समयसहित स्वर्ण पदक, अन्तर्राष्ट्रिय एभरेस्ट म्याराथन रजत पदक, १२ म्याराथन र २३ हाफ म्याराथन पूरा गर्दै समाजसेवामा सक्रिय गुरुङ विभिन्न प्रतिष्ठित संस्थामा आवद्ध हुनुहुन्छ । उहाँ सहारा यूके, चार भञ्ज्याङ तमु समाज यूके, एनआरएन यूके, क्याम्बर्ली नेपालीज गोर्खा सोसाइटी, पर्वत वेलफेयर सोसाइटीको सल्लाहकारसमेत रहनुभएको छ । गोर्खा कप, नेपाली मेला, ल्होछार महोत्सवदेखि तमु प्रतिष्ठानका परोपकारी भोजसम्म उहाँले निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
उक्त प्रतियोगितालाई सफल पार्न विश्व शान्ति स्तुपः समिति, पुम्दीकोट कोट विकास समिति, कालाबाङ घरेडी बुद्ध पार्क समिति, गण्डकी प्रदेश सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय, पोखरा लेकसाइडको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुइट्स,, पोखरा पर्यटन परिषद्, होटल मुस्ताङ लेते एण्ड थकाली किचन, पोखरा महानगरपालिका २२ को वडा युवा परिषद्, परिचय एड्भर्टाइजिङ, पुइमे फाष्ट फुड एण्ड बार लगायतको सहयोग रहेको छ ।
प्रतियोगितालाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवद्र्धन गरेका छन । प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय र पोखरा महानगरपालिका २२ को सहकार्य रहेको प्रतियोगिताको मेडिकल पार्टनरमा नेलम्बो नेपाल, अफिसियल टेलिभिजनमा सिटीवान टेलिभिजन जोडिएको छ । आधिकारिक ड्रिङ्किङ वाटरका रूपमा ग्लेज नेचुरल स्प्रिङ वाटरले साथ दिएको छ । साथै नेलम्बो नेपालले तेस्रो पुरस्कार समेत प्रायोजन गरेको छ ।
प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार र छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एकहजार नगद मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने पोखरा क्लिक डटकमका वरिष्ठ संबाददाता असफल गौतमले बताउनु भयो । गत वर्ष खुलातर्फको इभेन्टमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सातहजार रुपैयाँ रहेको थियो ।
यसैगरी, वडास्तरीय खुला, महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सातहजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत हुने भएका छन् । प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारको समेत व्यवस्था गरेको व्यवस्थापक सागर सुनार बताउनु हुन्छ । उहाँका अनुसार भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने भएको छ ।
