सुचना१
हेमाजा हिले महोत्सव

तेस्रो संस्करणको टुँडिखेल तीज महोत्सवलाई बीवाईडीको मुख्य प्रायोजन

भदौ ६ देखि १५ गतेसम्म हुने महोत्सवमा मौलिक तीजगीत, परम्परागत सिप प्रतियोगिता, नृत्य–संगीत, व्यापारिक स्टल र महिला सशक्तीकरणमुखी कार्यक्रमहरु संचालन हुने

पोखरा । नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर पोखरा महानगरपालिका–१ स्थित पुरानो टुँडिखेलमा आयोजना हुने तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ लाई विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले मुख्य प्रायोजन गर्ने भएको छ।

इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा भदौ ६ देखि १५ गतेसम्म सञ्चालन हुने महोत्सवका लागि बीवाईडीसँग मुख्य प्रायोजन सम्झौता भएको हो। सम्झौतापत्रमा आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी र बीवाईडी पोखरा शाखा प्रमुख निराजन खनालले हस्ताक्षर गरेका छन्।

सम्झौता पछि प्रमुख खनालले बीवाईडीले पोखरा महानगरपालिका–१० बुद्धचोकमा थ्रीएस (सेल्स, सर्भिस र स्पेयर) सुविधा सहितको नयाँ सोरुम संचालनमा ल्याएको जानकारी दिए। नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले पोखरामा २० औँ सोरुम खोलेको पनि उनले बताए। सोरुम स्थापनासँगै ऐतिहासिक टुँडिखेल तीज महोत्सवमा जोडिन पाउँदा खुसी लागेको उनको भनाइ थियो।

आयोजक अध्यक्ष अधिकारीले महोत्सव सम्पन्न गर्न बीवाईडी जस्ता व्यवसायिक संस्थाको साथ आवश्यक रहेको भन्दै धन्यवाद ज्ञापन गरे। उनका अनुसार महोत्सवको उद्देश्य ऐतिहासिक टुँडिखेलको संरक्षण, मौलिक नेपाली कला–संस्कृति प्रवर्द्धन, महिला सशक्तीकरणमा टेवा, लोपोन्मुख संस्कृति जगेर्ना, प्रतिभा प्रदर्शनका लागि वातावरण उपलब्ध गराउने, आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने, साथै इन्द्रेणी एकेडेमीमा अध्ययनरत बालबालिकाको समग्र स्तर उन्नति गर्नेसहित सामाजिक योगदान पुर्‍याउने रहेको छ।

१० दिने महोत्सवमा मौलिक तीजगीत प्रतियोगिता (आमा समूहगत), खुला एकल नृत्य प्रतियोगिता, परम्परागत सिप ढिँकी–जातो प्रतियोगिता, छेलो हान्ने प्रतियोगिता जस्ता कार्यक्रम सञ्चालन हुनेछन्। साथै दैनिक उपभोग्य सामान, कृषि, हस्तकला, बैंक तथा वित्तीय संस्था, लत्ता–कपडा, रेस्टुरेन्टलगायतका व्यापारिक स्टल रहनेछन्। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, बालउद्यान र विभिन्न मनोरञ्जनात्मक कार्यक्रमसमेत महोत्सवमा रहनेछन्।

महोत्सव स्थलमा करिब १५० व्यापारिक स्टल र १२ रेस्टुरेन्ट रहनेछन्। सम्पूर्ण स्टलहरू अग्रिम बुकिङ भइसकेको आयोजक अध्यक्ष अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार अहिले स्थलमा व्यापारिक स्टल, रेस्टुरेन्ट र बालउद्यान निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

महोत्सवका लागि उपाध्यक्ष एवम् अर्थ संकलन उपसमितिका संयोजक निरज विक्रम राणाले ६९ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको बताए। खर्च ६४ लाख ५० हजार हुने र करिब ४ लाख ५० हजार रुपैयाँ बचत हुने अनुमान गरिएको छ। उक्त बचत रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिने उनले जानकारी दिए।

वडा नं २६
Sadak 1
पुल सेन्टर