पोखरा । संघीय सरकारले ल्याउन लागेको शिक्षा ऐन कार्यान्वयनमा निजी विद्यालयलाई बन्द गर्ने खालको नीति रहेको भन्दै बोर्डिङ स्कुल सञ्चालकहरूले पोखरा–स्याङ्जा र आसपासका क्षेत्रमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।
“गुणस्तरीय शिक्षा–निजी विद्यालयको प्रतिवद्धता” भन्ने नारासहित गरिएको विरोध कार्यक्रममा प्याब्सन र एनप्याब्सनअन्तर्गतका विद्यालयहरूले कालो झण्डा र ब्यानर प्रर्दशन गरेका थिए। उनीहरूले शिक्षा विधेयकलाई निजी विद्यालयमैत्री नभएको भन्दै सडकमार्गमै बसहरूको लाइन बनाएर आफ्नो असन्तुष्टि सार्वजनिक गरेका हुन्।
पोखराको सहिदचोकबाट सुरु भएको स्कुल बसको र्याली मुस्ताङचोक, विरौटा, लेकसाइड, जिरो किलो, महेन्द्रपुल, पृथ्वीचोक हुँदै पुनः सहिदचोकमै पुगेर सकिएको थियो। यस्तै, पोखराकै लेखनाथ, अमरसिंहचोक र हरिचोक क्षेत्रमा समेत बस र्यालीमार्फत विरोध प्रदर्शन गरिएको थियो।
स्याङ्जा जिल्लामा भने पुतलीबजारको बिर्घा, कालीगण्डकीचोक हुँदै बसपार्क क्षेत्रसम्म स्कुल बससहित र्याली निकालिएको थियो। त्यस्तै, वालिङ बजारमा पनि बोर्डिङ स्कुल सञ्चालकहरूले बसहरूको लामो लाइन बनाएर कालो झण्डा र ब्यानरसहित शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए।
शान्तिपूर्ण र व्यवस्थित ढङ्गमा गरिएको आन्दोलनले केही समय सडकमा हलचल भएको भए पनि, सबै गतिविधि सुरक्षित र नियन्त्रणमा रहे। आयोजक बोर्डिङ सञ्चालकहरूले भने, शिक्षा विधेयक कार्यान्वयन गर्दा निजी विद्यालयहरूले खेल्ने भूमिका र गुणस्तरीय शिक्षामा योगदानलाई ध्यानमा राख्नु जरुरी रहेको बताएका छन्।
शिक्षा ऐनका केही प्रावधानबारे अझ खुला छलफल र सबै सरोकारवालासँग सहमति आवश्यक रहेको सन्देश बोर्डिङ स्कुल सञ्चालकहरूले आफ्नो र्यालीमार्फत दिन खोजेका छन्।
