सुचना१
newa srijana

लामाचौर कप अन्तर मावि छात्रा भलिबल सेमिफाइनल टुङ्गो, पुरुषतर्फ खेल आइतबारदेखि

पोखरा । पोखरामा सुरु भएको लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत अन्तर मावि छात्रा भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ। शनिबारदेखि सुरु प्रतियोगितामा सिर्जना, टप्स, शान्त र पोखरा युनाइटेड मावि अन्तिम चारमा पुगेका छन्।

पहिलो दिन ११ टिमबीच ७ खेल सम्पन्न हुँदा सिर्जना, टप्स र शान्तले लगातार दुई चरणमा जित निकालेर सेमिफाइनल सुरक्षित गरे भने बाईमा परेको पोखरा युनाइटेडले कन्या माविलाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्‍यो।

आइतबार बिहान हुने पहिलो सेमिफाइनलमा सिर्जना मावि र टप्स मावि भिड्नेछन् भने दोस्रो सेमिफाइनलमा शान्त मावि र पोखरा युनाइटेड आमनेसामने हुनेछन्।

यसैबीच, खुला पुरुष भलिबलतर्फ आयोजक, एपिएफ पोखरा, कृष्णदल फूलबारी, जिएम समाज, माछापुच्छे गाउँपालिका खेलकुद विकास समिति र ढुंगेदेउराली क्लब स्याङ्जा गरी ६ टिम सहभागी हुनेछन्। पुरुषतर्फका खेल आइतबारदेखि सुरु हुनेछन्।

खुला पुरुष भलिबल विजेताले ३ लाख रुपैयाँ, उपविजेताले १ लाख ५० हजार र सर्वोत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्नेछन्। अन्तर मावि छात्रा भलिबल विजेताले १ लाख, उपविजेताले ५० हजार र उत्कृष्ट खेलाडीले ५ हजार पाउनेछन्।

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)ले २९औं वार्षिकोत्सव एवं तीज अवसरमा आयोजना गरेको २७औं लामाचौर तीज महोत्सव–२०८२ को मुख्य आकर्षण नै भलिबल प्रतियोगिता बनेको छ। भदौ ८ देखि १० गतेसम्म इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा विविध सांगीतिक, सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम हुनेछन्।

तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोकनृत्य, औद्योगिक–व्यापारिक ५० स्टल, बालउद्यान, स्रष्टा सम्मान, कलाकारको दैनिक प्रस्तुति लगायत कार्यक्रम रहनेछन्। प्रकाश दूतराज, जानकी तारामी मगर, रीता थापामगर, शिव हमाललगायतका कलाकारले प्रस्तुति दिने कार्यक्रम तय भएको छ।

संस्थाका अध्यक्ष इञ्जि. दिनेश भण्डारीका अनुसार “मौलिक संस्कृतिको जगेर्ना र खेलकुदको विकास” भन्ने उद्देश्यका साथ महोत्सवलाई निरन्तरता दिइएको हो। करिब ४५ लाख खर्च हुने अनुमान गरिएको महोत्सवको बचत रकम आकस्मिक सेवा तथा तीज महोत्सव कोषमा थप गरिने जनाइएको छ।

अन्नपूर्ण गाउँपालिका कास्की
Sadak 1
रूपा गाउँपालिका कास्की